
समस्यामा चितवन कारगारमा कैदी
राहुल देवान
नेपालको ठुला कारागार मध्ये एक मानिएको जिल्ला कारगार चितवनमा क्षमता भन्दा निकै नै बढी मात्रामा कैदी बन्दहरु राखिएको तथ्य सार्वजनिक भएको छ । चितवनमा जिल्लामा बिपी कोेईराला मेमोरियल क्यान्सर हष्पिटल रहेकोले सोही हष्पिटललाई लक्षित गरी अन्य जिल्लाहरुकाट पनि दिर्घ रोगी कैदी बन्दीहरुलाई चितवन कारगार पठाउने हुंदा उक्त कारगारमा क्षमता भन्दा बढी मात्रामा कैदीबन्दीहरु रहेका हुुन ।
उक्त कारगारमा बढी मात्रामा क्यान्सरका बिरामी भएका कैदीहरु पठाइने गरिएको छ । हाल जिल्ला कारागार चितवनमा ५० जना कैदी बन्दी दीर्घरोगबाट पीडित छन् । घाँटीमा क्यान्सर लागेका तीन जना, फोक्सो तथा पेटमा क्यान्सर लागेका एक÷एक जना र स्तन क्यान्सर लागेका दुई जना छन् । त्यस्तै, क्षयरोगी लागेका चार जना, सुगर लागेका दश जना, उच्चरक्तचापका २५ जना, हेपाटाइटिस बीका तीन जना, एचआईभी एड्स लागेका एक जना कैदी बिरामी परेको जिल्ला कारागार चितवनका प्रमुख जेलर कमल प्रसाद काफ्लेले बताएकाछन । कारागारमा कैदी तथा थुनुवाको उच्च चाप भएकाले सानादेखि ठूला उपचारमा खर्च हुने गरेको छ । ‘क्यान्सर लागेका बिरामी कैदी प्रायः चितवन स्थानान्तरण गरिन्छन्, उपचार गराउन अस्पतालसम्म लैजान, ल्याउन समेत ठूलो जोखिम मोल्नुपर्छ ।’ कारागारमा थोरै भए पनि शय्याको व्यवस्था गर्न सकिए व्यवस्थापनमा सहजता आउने प्रमुख काफ्ले बताउँछन् । ‘क्यान्सर बिरामीलाई आवश्यक शय्या उपलब्ध गराउनसकेका छैनौँ’, उनले भने, ‘सजाय भोगिरहेका बिरामीलाई अस्पतालमै राखेर उपचार गराउन पनि जटिल छ ।’ कारागार व्यवस्थापन विभागको टोली केही महिनाअघि चितवन आएर कारागारको वस्तुस्थिति बुझेको थियो । ‘शय्याको व्यवस्था गरिए कारागारकै स्वास्थ्यकर्मीले रेखदेख गर्न पनि सजिलो हुन्थ्यो’, कारागार प्रमुख काफ्लेले भने, ‘आगामी वर्ष शय्यासहितको उपचार गराउने व्यवस्था मिलाइने तयारी छ ।’ क्यान्सरको उपचार महंगो हुन्छ तसर्थ यसलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्छ । उनले भने, ‘यो वर्ष झण्डै १० लाख बजेट स्वास्थ्यका लागि आएको थियो, तर औषधिसम्म किन्न पुगेको छैन ।’ यो वर्ष औषधि खरिद गरेको झण्डै दुई लाख रुपैयाँ कारागारले तिर्न बाँकी छ । गत वर्षमात्रै कारागार चितवनलाई स्वास्थ्यतर्फ १३ लाख रुपैयाँ बजेट आएको थियो । जसमध्ये छ लाख रुपैयाँ औषधि खरिदमै सकिएको थियो । हप्ता, महिनामा क्यान्सर अस्पतालमा बिरामी लग्नुपर्ने अवस्था रहेको मेडिकल नाइके मदारी महतोले बताए । उनका अनुसार हाल रुघाखोकी, ज्वरो, झाडापखालालगायतका बिरामी समेत छन् । यस्तै, सीमा सुरक्षा कार्यालय आँपटारीको पहलमा ०७१ फागुनमा कारागारभित्र घरेलु सामग्री उद्योग निर्माण कक्ष बनाएपछि कारागारभित्र सजाय भोगेकाहरु यतिबेला रमाउनथालेका छन् । जिल्ला कारागार चितवनमा अहिले करिब तीन सय कैदीहरु दैनिक आयआर्जनमूलक काममा लागेका छन् । बाँसका मुडा बनाउने कार्यमा दुई सय ५७ जना, सुनचाँदीका सामान बनाउने कार्यमा आठ जना, साडी कडाइ गर्ने काममा तीन जना, कालो टोपी बनाउन १० जना, घरेलु तानमार्फत पछ्यौरा बुन्ने, हाते पर्स झोला बनाउने कार्यमा २२ जना दैनिक खटिँदै आएका छन् ।
यस्तै, महिला कैदीका लागि कारागारभित्रै चिकित्सक श्रीमती संघ चितवनको अगुवाइमा सीप विकास केन्द्र बनाएको थियो । यसअघि पनि सीप सिकाउने, घरेलु सामग्री बनाउने काम हुँदै आएका थिए । ‘आजभोलि कारागारभित्र निराश बनेर बस्नेभन्दा आयआर्जनका सीपलाई व्यवहारमा उतार्ने धेरै छन्’, जिल्ला कारागार चितवनका नायब सुब्बा तथा सूचना अधिकारी रामबाबु श्रेष्ठले भने, ‘मासिक ७ देखि ८ हजार कमाउँछन्, घर पठाउँछन् ।’ सीप सिक्न खोज्ने धेरै भए पनि कारागारले आफ्नै बजेटमा तालिम आयोजना गर्न नसकेको उनले स्वीकार गरे । कारागारको समन्वयमा सामाजिक संघ÷संस्थामार्फत सीपमूलक तालिम दिइँदै आएको उनले बताए । पुर्पक्षका लागि थुनामा रहेका भन्दा सजाय भोग्न जेल बस्नेहरु यस्ता आयआर्जनमूलक काममा संलग्न भएको उनले बताए । ‘कारागारबाट सजाय भोगिसकेपछि बाहिर जाँदा परिवर्तन होऊन् भन्ने हाम्रो अपेक्षा हो’, कारागार प्रमुख कमल प्रसाद काफ्लेले भने, ‘आपराधिक मानसिकता हटाउँदै समाजमा पुनस्र्थापित हुने सुवर्ण अवसर पनि हो ।’ उनले घरव्यवहार चलाउन यस्ता सीपले सघाएको बताए । जेलब्रेक गर्ने सोचभन्दा काम गर्ने सोच सबैमा हुनुपर्छ’, उनले भने, ‘सजाय भोगिरहँदा पनि सीप सिकेर घरपरिवार पाल्ने बन्ने चाहना धेरैमा आउनथालेको छ ।’
कारागारका सूचना अधिकारी रामबाबु श्रेष्ठले दिएको जानकारीअनुसार हाल उक्त कारागारमा पाँच सय ७६ जना बन्दी रहेको बताए । जसमध्ये पुरुषतर्फ तीन सय ७१ जना कैदी र एक सय ५२ जना थुनुवा छन् । यस्तै महिलातर्फ २९ जना कैदी र २१ जना थुनुवा छन् ।
आर्थिक वर्ष ०६८÷०६९ मा नयाँ पक्की ब्लक निर्माण गरी कारागारको क्षमता ८५ जनाबाट एक सय ४० जना बढाइएको थियो । सबैभन्दा बढी गैँडा मार्ने मुद्दाका एक सय २८ जना छन् । लागूऔषध र जबर्जस्ती करणी मुद्दामा दुई सय आठ जना छन् । कर्तव्य ज्यानमुद्दाका ६९ जना, चोरी मुद्दाका २७ जना छन् । अनुसन्धान गर्न पुर्पक्षका लागि थुनुवा हुनेमा धेरै लागूऔषधका रहेको उनले बताए । यस्तै ११ जना विदेशी छन् । चोरी मुद्दामा एक अफ्रिकाका छन् भने अन्य सबै भारतीय छन् । लागूऔषध मुद्दा, चोरी मुद्दा, सवारी ज्यान मुद्दा, गैँडा मार्ने अभियोगका दुई÷दुई जना भारतीय छन् । यस्तै अपहरण मुद्दा र कर्तव्य ज्यान मुद्दामा एक÷एक जना भारतीय नागरिक छन् । यस्तै तीन आश्रित नाबालक छन् । क्षमता भन्दा बढी कैदीबन्दी रहेकाकारण पनि चितवन कारगारमा श्रोत साधान भएको हुंदा कारगारको उचित व्यवस्थापन हुुन सकेको छैन ।
Posted on: 2017-Apr-20