26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कसरी लेखिदैछन् आजका कविता?

3 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
                       तपेन्द्र घोडासैनी,       कवितामा जीवन र जगतको उत्खनन् गरिन्छ र त्यो उत्खनन् निकै चामत्कारिक र विस्तारित रुपमा गरिन्छ । मान्छेको हृदयको केन्द्रको स्पन्दनको तरङ्गको झङ्कारले कलात्मक शाब्दिक छायाङ्कन पाउनु नै यथार्थमा कविता हो । कवितालाई कविता बनाउन कवितात्मक शिल्प र शैली आवश्यक हुन्छ । जीवन र जगतको उत्खनन्को क्रममा मानवताको खोजी गर्न कविहरु उद्दत हुन्छन् । कवि बाबु कविताको परिभाषा कवितामा दिनुहुन्छ–     कसैको मन नदुखाइकन,   कसैको झुपडी नजलाइकन,   कसैलाई टुहुरा नबनाइकन,   क्रान्ति गर्नु पो क्रान्ति,..............       कविता लेखनको क्रम पछिल्लो समयमा निकै बढेको छ । कविता लेखनमा अझ युवाहरु उत्साहित भएर लागेका छन् । उनीहरुले कविता लेखन सँगसँगै नयाँ बिम्व, प्रतिक र शैलीको पनि खोजी गरिरहेका छन् । सामाजिक सञ्जाल वा विभिन्न सञ्चारका माध्यमहरु मार्फत कविता वाचन, प्रकाशन र प्रशारण पनि ठूलो सङ्ख्यामा भइरहेको छ । राजधानी लगायत देशका विभिन्न ठाउँमा साहित्यिक संस्थाहरु पनि निकै क्रियाशील छन् । संख्यात्मक रुपमा कविताहरुको निकै ठूलो वृद्धि भइरहेको छ । तर कविहरु नै आफ्नो कविता ‘कविता’ भयो वा भएन भन्ने कुरामा एकदमै अन्यौल रहने गरेको अवस्था छ । कवितालाई कविता बनाउन आवश्यक तत्व के हो भन्ने सन्दर्भमा पनि कवि र विद्वानहरुको तर्क पनि फरक–फरक रहेको पाइन्छ ।  कवि तुलसी दिवस भन्नुहुन्छ– “अनुभूतिलाई भाषाको माध्यमबाट विम्व प्रतिकको कलात्मक प्रयोगद्वारा कविता निर्माण गरिन्छ । कविहरु सामाजिक र मानवीय प्रयोजनका लागि र मान्छेका लागि आफ्ना अनुभूतिहरु इमान्दारितापूर्वक व्यक्तिबाट लिएर समाजमा जान्छन् । त्यस्ता कवितामा उचाई र विस्तार हुनुपर्छ । अघि कहिल्यै नसुनिएको नयाँ, नवीन, निजत्व र मौलीक भाषिक कलात्मकता कविताका प्राण हुन् । त्यस्ता कवितामा भएको मौलिक चिन्तन, मौलिक भाव, मौलिक शैलीमा शक्ति सामथ्र्य र तागत आउने भएकाले काव्यात्मक झट्का दिन्छ ।” तर कवि विप्लव ढकाल भने आजका कविताको अपरिहार्य तत्व विचारलाई मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ –“कविताको स्तरलाई मापन गर्ने परिसूचक पनि विचार र कला नै हो । आजका कविता वैचारिक रुपमा प्रखर र मुखक रुपमा लेखिदै आएका छन् । र पछिल्लो समयका कविताले समय र समाजसँग सही ढंगले सम्वाद गरिरहेको हुँदा कविताको स्तरियता पनि बढेको छ ।” कवि सीमा आभाष भने कवितामा सौन्दर्य, चित्र र संगीत हुनुपर्ने कुरामा जोड दिनुहुन्छ । कविता मान्छे भएर लेखिनुपर्ने र मानवीय समवेदनाका कुरा कवितामा आउनुपर्ने कवि आभाषको तर्क छ । कवि ज्योति जंगलको तर्कमा भने “कवितालाई कविता बनाउन चाहिने न्यूनतम् तत्व संवेगको कला हो । संवेगसँग चेतना विद्रोह र मानवीयता सँगै हुन्छन् । कला र शैली कविताको पोशाक हो ।”     कवितालाई कविहरु प्रायः मानवीय समवेदनासँग जोड्ने गर्दछन् । पछिल्लो समयमका कवितामा भने राजनीतिक अभिष्ट तथा निजी साम्प्रदायिक अवरोध, उपेक्षा र क्षतिमाथि विमर्श र चिन्तनहरु पनि पर्याप्त मात्रामा आउने गरेका छन् । कवि मिश्र वैजयन्तीको विचारमा ‘कविताहरुमा यस्तो लेखनले सामाजिक सांस्कृतिक आदानप्रदान तथा जानकारी उपलव्ध गराएतापनि साहित्यको विश्वव्यापीकरणमा यस्ता कविताको स्तर र क्षेत्र साँघुरो हुन्छ । युवा कवि हेम प्रभासको तर्कमा पनि राजनीतिक, सांस्कृतिक र सामाजिक क्षतिमा विभेदका विषयहरु कालान्तरमा परिमार्जित वा परिस्कृत हुने भएकाले यस्ता कविताको आयु छोटिन सक्छ । सास्वत सत्य वा हृदय, आध्यात्म वा प्रेमका कविताहरु नै जीवन्त हुन्छन् । कवि आभाषको तर्कमा पनि “कविता समयविहीन कुरा हो । कवितामा जुनसुकै कुरा लेखिए तापनि पाठक र समालोचकको दृष्टिमा पनि विभेदको गन्ध नमेटिएको उहाँको तर्क छ । तर कवि विप्लव ढकाल भने आजको युग वहुलवादी भएकाले कवितामा यस्ता विषयवस्तु आउनु स्वभाविक मान्नुहुन्छ । वहाँका अनुसार ‘हाम्रो समाज संक्रमणकालीन समाज हो । यहाँ एकै ठाउँमा ढिकी र कम्प्यूटरको सहउपस्थिति छ । एकातिर हलो र अर्कातिर इन्टरनेट सँगै जीवित छन् । हाम्रा स्थानीय विशेषताहरुलाई विश्वव्यापीकरण गरेर नै हामीले आफ्नो मौलिकतालाई स्थापित गर्न सक्छौँ ।’ आजका कविताहरु पनि समाज, संस्कृति, स्थानीयता तथा जरा र जमिनलाई निकटबाट स्पर्श गरिरहेको वहाँको बुझाई छ ।     कुनै पनि कुरा निर्विकल्प र अन्तिम सत्य हुँदैन भन्ने वहुलवादी मान्यतामा आधारित यसरी लेखिदै आएका कवितालाई मानवीय चेतनाको उत्तरआधुनिक चिन्तनको रुपमा समालोचक र सिद्धान्तकारहरुले व्याख्या रहेका छन् । उत्तरआधुनिकतावादको प्रयोगको सन्दर्भमा पनि नेपालको परिस्थिति र परिप्रेक्ष्यमा नेपाली कवि र समालोचकहरुको आ–आफ्नै किसिमको बुझाई छ । कतिपय कविले यसलाई फेसनको रुपमा लिने गरेका छन् भने कतिपय कविहरुले यसलाई कवितामा भित्रिएको महत्वपूर्ण प्रयोगको रुपमा लिने गरेका छन् । विश्वव्यापीकरण सँगसँगै पश्चिमबाट आएको यो शैलीलाई पनि हाम्रै जीवन र सन्दर्भका रुपमा व्याख्या विश्लेषण र प्रयोग  गर्नुपर्ने कवित तुलसी दिवसको भनाइ छ । कवि विप्लव ढकाल पनि यही तर्कमा समर्थन गर्नुहुन्छ । तर कवि सुमन पोखरेल भने पूर्वीय काव्य संस्कृतिमा यस्तो प्रयोग उहिल्यै भित्रीसकेको र व्यख्या मात्र पश्चिमबाट भएको बताउनुहुन्छ । कवि सीमा आभाषको तर्क पनि कवि सुमन पोखरेलसँग मिल्दोजुल्दो छ ।       नेपाली कविताको विश्वव्यापीकरण र विस्तारीकरणमा पनि निकै ठूलो समस्या रहेको छ । कवि सीमा आभाष भन्नुहुन्छ “हामीसँग राम्रो कविता भएर पनि राम्रा अनुवादक नहुुनुले यस्तो भएको हो । राम्रा अनुवादक हुनका लागि भाषा र साहित्य, सुंस्कृति, प्रविधि आदिमा पूर्ण जानकार व्यक्ति चाहिन्छ । तव मात्र सही ढंगबाट कविताको अनुवाद हुनसक्छ ।’ कवि सुमन  पोखरेल भने हामीले लेख्ने केही कविताहरु उच्च कोटीका भएतापनि अधिकांश कविताहरु पश्चिमका तुलनामा फितला हुने गरेको बताउनुहुन्छ । वहाँका अनुसार “हामी एउटै कुरा दोहो¥याउँछौ, व्याख्या गर्छौँ, र लम्ब्याउँछौ । यसरी व्याख्या गरिँदा विचारको फितलो प्रस्तुति देखिन्छ । कविता सांकेतिक रुपमा थोरै शब्दमा धेरै भन्नुपर्ने विषय हो । त्यसैले विचारको व्याख्या नभएर विस्तार गर्नुपर्छ । एकदमै नविनतम् र मौलिक भावलाई बिम्व र प्रतिकको सुन्दर समायोजनबाट कलात्मक चित्र संकेत गर्नुपर्छ । ”       कविताको वर्तमान प्रवृतिको सन्दर्भमा समालोचकहरुको पनि आ–आफ्नै तर्क रहेको पाईन्छ । समालोचक नेत्र एटम भन्नुहुन्छ “बिम्वत्मक दृष्टिबाट लयात्मक रुपमा अएको विशिष्ट पंक्ति कविता हुन्छ ।” समालोचक डा. लक्ष्मणप्रसाद गौतमका विचारमा साहित्यिक तत्वहरु प्रायः साझा छन् । बिम्व र प्रतिक कवितालाई शक्तिशालि बनाऊने तत्व हुन् । कविताले कुनै कुराको ब्याख्या गर्दैन मात्र संकेत गर्दछ । त्यसै संकेत गर्ने क्रममा विम्व र प्रतिविम्वले कवितालाई अत्यन्तै सघन र सौन्र्दययुक्त बनाउँदछन् । विचार, बिम्व प्रतिक जस्ता तत्वहरु साहित्यका अन्य विधामा पनि हुने भएकाले कविताको निजी तत्व चाहीँ लय हो । नेपाली कविताको स्तरका सन्र्दभमा पनि समालोचक नेत्र एटमको भनाई अनुसार त्यति माथि उठेको छैन । कवि गोपालप्रसाद रिमाल, भुपि शेरचन र बैरागी काईला कै वरिपरि नेपाली कविता रहेको उहाँको भनाई छ । वहाँ भन्नुहुन्छ –‘कविहरु भ्रम र अहम् भावले ग्रस्त छन् । दुनियाँमा आफूमात्र चरित्रवान र अरु सबै गलत देखाउन खोज्नु कविहरुको कमजोरी पक्ष हो । बहुलतालाई उठाउने बाहानामा पनि पिछडिएको आवाजलाई स्वार्थपूर्ण प्रयोग भईरहेको छ ।’      समालोचक डा. गौतमका अनुसार पनि नेपाली कविताको संख्यात्मक बृद्धि बढी र गुणात्मक बृद्धि कम भएको छ । र केही कविता निकै अब्बल पनि आएका छन् । वहाँका अनुसार ‘कवि जुन युग र परिवेशमा बाँचेको छ, त्यही लेख्ने हो । पछिल्लो समयमा साइवरदेखि विश्व परिवेससम्मका विषयहरु आइरहेकाले पाठकहरुले पनि आजका कवितालाई बुझ्न सबै विषयमा ज्ञान र जानकारी राख्नुपर्छ । आजका कविताले यति धेरै विषय समेटेको छ, त्यसको कुनै लेखा–जोखा नै छैन । र पनि आजका कविताको मूल केन्द्र मान्छे नै हो ।’ कवितामा भित्रिएको बहुलवाद र आञ्चलिकताले पनि आजका कविताको महत्व झन् बढेको छ । आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन सवाल्टनवर्गको जीवनसंघर्षलाई आजका कविताले सुक्ष्म रुपमा सम्बोधन गरेको कवि विप्लव ढकाल बताउनुहुन्छ । तर कवि हेमन्त विवस भने कर्णालीपारीलाई नेपाली कविताले सम्बोधन गर्न नसकेको गुनासो गर्नुहुन्छ । वहाँका अनुसार ‘कर्णाली जसरी राजनीतिक मुद्दाहरुमा छाँयामा रह्यो, त्यसरी नै साहित्यमा पनि छाँयामा नै रह्यो ।’ नेपाली कविताको अझ विकास र विस्तारका लागि कविहरुले कविताको विश्वपरिवेशलाई बुझेर मानवता, सौन्दर्यता, हार्दिकता र मानवीय मूल्यलाई हृदयले स्पर्स गरी साधना गर्नु आवश्यक देखिन्छ ।  

Posted on: 2015-Sep-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar