06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कोइराला बन्लान् त प्रधानमन्त्री ?

10 - Feb-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0
स्टोरी– ३, कभर स्टोरी सरकार गठनको जोड घटाऊ विशेष संवाददाता काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनको निर्वाचन परिणाम (समानुपातिकको समेत) सार्वजनिक भएको महिनादिन नाघेपछि दलहरु सरकार निर्माणको जोडघटाऊमा लागेका छन् । निर्वाचन परिणामका हिसाबले सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले सरकार निर्माणका लागि पहल थालेको हो । यो पहलले सार्थकता पाउन अझै केही दिन लाग्नेछ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका क्रममा प्रधानमन्त्री पदका आकांक्षी नेताहरुले को प्रधानमन्त्री बन्ने पक्का गरेका छन् । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा को प्रधानमन्त्री बन्ने भन्ने अन्तिम दौडमा सहभागी भए । केही अघिसम्म दौडमा सामेल हुने घोषणा गरेका उपसभापति रामचन्द्र पौडेल भने अन्तिम समयमा बाहिरिए र सभापति सुशील कोइरालालाई समर्थन गरे । तर, यसपटक संसदीय दलको चुनाव लडेर शेरबहादुर देउवाले कांग्रेसभित्रको ६० र ४० को भागवण्डामा हुँदै आएकोमा आफ्नो भाग थपेका छन् । संसदीय दलमा कोइरालाका पक्षमा ५४ मत आयो भने देउवाले ४६ प्रतिशत पाए । जसको सीधा अर्थ के हो भने अब सरकारमा सहभागी हुँदा कांग्रेसले प्राप्त गर्ने मन्त्रीको भागवण्डामा देउवाले ४६ प्रतिशत र कोइरालाले ५४ प्रतिशत उपयोग गर्ने सहमतिको नयाँ खाका संसदीय दलको चुनावले कोरिदिएको छ । पौडेलको बहिर्गमन प्रधानमन्त्रीका आकांक्षी रामचन्द्र पौडेल कांग्रेसभित्र समाजवादी विचारधारा बोक्ने तार्किक नेता हुन् । पौडेल कांग्रेसका सामूहिक नेतृत्व प्रणाली हुनुपर्ने मान्यताका पक्षपाती हुन् । “नेपाली कांग्रेस स्थापनादेखि नै सामूहिक नेतृत्व प्रणालीका आधारमा चलेको पार्टी हो,” आफूले प्रधानमन्त्री पदका लागि दौड छाडेपछि पौडेलले भने । नेपाली कांग्रेसको स्थापनायता नै विशेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर र सूर्यप्रसाद कोइरालाबीच एक खालको सामूहिक नेतृत्वकै अभ्यास थियो । दोस्रो पुस्तामा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले नेता त्रयको रुपमा सामूहिक नेतृत्वलाई अगाडी बढाए । नेता त्रयको अभ्यासमा पछिल्लो पटक देखिएका तीन नेता हुन्– सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल । पौडेलले कांग्रेसभित्रको राजनीतिमा र सरकारमा पनि राम्रो हैसियत बनाइसकेका हुन् । उनलाई अघिल्लो पटक पनि पार्टीले प्रधानमन्त्रीका लागि अघि सारेको पनि हो । जुनबेला उनले माओवादीका अध्यक्ष प्रचण्डसँग निरन्तर चुनाव लडे दर्जनौपटक पनि नतिजा दिन नसकेको उक्त चुनावमा पौडेललाई अघि सारिएकाले अहिले पार्टीको अनुकुल परिवेशमा उनी आकांक्षी देखिनु अस्वभाविक थिएन । तर, पार्टीभित्र उनी तेश्रो गुट निर्माण गर्न असफल भए, जसको फलस्वरुप उनले सभापति सुशील कोइरालालाई समर्थन गरे । कांग्रेसभित्रको एक्लो प्रतिपक्षीका रुपमा शेरबहादुर देउवा देखिए । देउवाको गोटी शेरबहादुर देउवा प्रधानमन्त्रीका अर्का आकांक्षी हुन् । यसअघि पनि पटक–पटक प्रधानमन्त्री बनिसकेका देउवाले सरकारको नेतृत्वको चाहना राख्नु स्वभाविका पनि हो । देउवाले कोइरालासँग चुनाव लडेर आफूलाई उनीपछिको स्वभाविक नेताको रुपमा स्थान बनाउन खोजेका हुन् । यससँगै अब बन्ने सरकारमा आफू समर्थित मन्त्रीको संख्या उनले बढाउनेछन् । शेरबहादुर देउवा अस्थिर स्वभावका नेता हुन् । नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष देउवा कृष्णप्रसाद भट्टराईका निकट थिए, विद्यार्थी राजनीतिमा । २०४६ सालको जनआन्दोलनका बेला उनी बेलायतमा थिए । प्रवासी नेपालीहरुमाझ र अन्तर्राष्ट्रिय समुदायबाट उनले जनआन्दोलनका लागि समर्थन जुटाए ।  २०४७ पछि बनेको कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी पनि पाए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको मनमुटावपछि कांग्रेसलाई विभाजित गरी नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति र प्रधानमन्त्री बने । राणा खान्दानसँग ससुरालीको साइनो गाँसिएका उनलाई अस्थिर र उपयोग भइहाल्ने नेताको रुपमा हेरिन्छ । संस्थापनभित्र उनलाई केही वरिष्ठ नेताहरुले “वैरी”को रुपमा हेर्नेगर्छन् । देउवा तत्कालीन् राजा ज्ञानेन्द्रबाट अपदस्त भएका उनी पछि पनि राजाबाटै उपयोग भए । ज्ञानेन्द्रले २०६१ माघ १९ मा उनलाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको भन्दै जेल पनि हाले । देउवा शैलीका कारण माओवादी अध्यक्ष प्रचण्डले पनि यसअघिको संसद्मा उनलाई सरकारको नेतृत्वको लोभ दिएर उपयोग गर्ने रणनीति अघि सारेका थिए । भलै प्रचण्ड सफल भएनन् तर देउवालाई हेर्ने नीति भने बदलिएको छ्रैन । भ्रातृ संगठनबाट राजनीति गरेको र तीनपटक सरकारको नेतृत्व गरिसकेका उनी नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । कोइराला बन्लान् त प्रधानमन्त्री ? संसदीय दलको नेता निर्वाचित भएपछि अब निसन्देह उनी कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार हुन् । कोइराला संसदीय दलको नेता निर्वाचित भएपछि नेपाली कांग्रेसका तर्फबाट महासमिति सदस्य समेत रहेकी एकजना नेतृ मृदुला कोइरालाले आफ्नो फेसबुक स्ट्याटसमा कोइरालाको त्याग र समर्मणको जित भएको टिप्पणी लेखिन् । नेतृ कोइरालाकै कुरामा पूर्ण सहमत हुन नसकेपनि सुशील कोइराला त्यागी नेता हुन् भन्नेमा कुनै सन्देह भने छैन । नेपाली कांग्रेसको प्र्रजातन्त्र र समाजवादको लडाइँमा उनले आफू र आफ्नोभन्दा ज्यादा पार्टीका लागि काम गरेका छन् । गिरिजाप्रसाद कोइरालापछि कार्यवहाक सभापति हुँदै २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित भए । सुशील कोइराला नेपाली कांग्रेसका “आइकन” मानिन्छन् । संविधानसभा निर्वाचनमा पराजय भोगेर संविधानसभा नै बहिस्कार गरेको एकीकृत माओवादीलाई उनले आफ्नो निर्वाचन क्षेत्र बाँकेबाट फर्कनेबित्तिकै त्यस्तो हठ नराख्न आग्रह गरे । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई विश्वासमा लिएर लोकतान्त्रिक संविधान निर्माणका लागि कांग्रेस एमाले साझेदारीको निरन्तरताको खाँचो उनले औंल्याएका छन् । संसदीय दलको नेता हुँदैमा सुशील कोइरालाका लागि प्रधानमन्त्री बन्न भने सजिलो छैन । कोइराला हठी र राष्ट्रवादी नेता हुन् । उनी कसैको इशारामा सबै कुरा दाउमा राखेर पद प्राप्तिमा लाग्दैनन् भन्ने कुरा उनले धेरै पटक पुष्टी गरिसकेकाले सो विषयमा आम मानिसहरु जानकार छन् । कोइरालाका लागि यसपटक पनि सरकारको नेतृत्व गर्नु चुनौतीपूर्ण नै छ । राष्ट्रपतिले सहमतिय सरकार निर्माणका लागि दिएको समयभित्र सहमतिय सरकार गठनका लागि कोइरालाले प्रमुख दलको नेताका हिसाबले पहल अघि बढाइसकेका छन् । एमाले र माओवादीलाई उनले सरकारमा सामेल हुन गरेको आग्रहलाई ती दलले कस्तो जवाफ देलान् त भन्नेको उत्तर अब कुर्ने पालो भएको छ । एमाले रणनीति संविधानसभा निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा एमालेको बुझाइमा अब राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री दुवै नेपाली कांग्रेसको भागमा जाने पक्कापक्की छ । राष्ट्रपति यसअघिदेखि नै यथावत् छन् भने प्रमुख दलको हिसाबमा कांग्रेसले सरकारको नेतृत्व लिने भएपछि एमालेले राष्ट्रपतिको नयाँ निर्वाचन माग गरेको छ । एमाले र कांग्रेसबीच त निर्वाचन परिणाम आएलगत्तै राष्ट्रपतिको विवादले उग्र रुप लियो किनकी कांग्रेस राष्ट्रपति चलाउन नहुने अडानमा देखियो भने एमाले कुनै पनि हालतमा राष्ट्रपति फेर्नुपर्ने अडानमा । एमालेले राष्ट्रपति फेर्नुपर्छ भन्दा उसका लागि कांग्रेसले लचक भएर तिमै्र नेतृत्वमा सरकार बनाऊ भन्छन् कि भन्ने भित्रि आशय पनि देखियो । तर, ठूलो दलको हिसाबमा सरकारको नेतृत्व पनि गर्ने अनि राष्ट्रपति जो अघिल्लो संसद्बाट चुनिएका थिए, उनी पनि यथावत् रहने अवस्थाले दुई दलबीच मनमुटावको अवस्था आएको हो । एमाले राष्ट्रपति पनि नफेरिएको र कांग्रेसले सरकारको नेतृत्व गरेको खण्डमा सरकारमा जाने कि नजाने भन्ने दोधारमा छ । संवैधानिक कानूनका ज्ञाता चन्द्रकान्त ज्ञवाली भने अहिले राष्ट्रपति परिवर्तन गर्ने मुद्दा उठाएर बखेडा झिक्नुभन्दा एक वर्षभित्र संविधान जारी गरेर अन्तरिम संविधानसँगै राष्ट्रपति र उपराष्ट्रपतिको सम्मानजनक विदाई गर्नुपर्ने बताउँछन् । “एक वर्षभित्र संविधान निर्माण गरे राष्ट्रपतिले त्यसलाई जारी गर्छन् र सम्मानजनक रुपमा बाहिरिन्छन्,” उनी भन्छन् । तर, एमाले नेताहरुले अहिले झिकेको बखेडाले एक वर्षभित्र संविधान बन्छ भन्नेमा उनीहरु नै आशावादी नरहेको देखिन्छ । नजिकिदैं गरेको पार्टी महाधिवेशनले पनि एमालेको सत्ता समीकरण झन् जटिल बन्दै गएको छ । यद्यपि माधव नेपालजस्ता नेताहरुले पहल गरे भने एमालेलाई सरकारमा ल्याउन कांंग्रेसका लागि “सफ्ट कर्नर” भने छँदैछ । जुन सजिलो भने छैन । एमालेको यो रणनीति राम्ररी बुझेको एकीकृत माओवादीले कांग्रेस र एमालेलाई त्यही अनुरुप उपयोग गर्नेछ । कांग्रेस एमाले सम्बन्ध अघिल्लो संविधानसभामा अस्वभाविक पराजय बेहोरेका कांग्रेस र एमाले प्रजातान्त्रिक शक्तिका रुपमा नजिकिए । जसको फलस्वरुप कांग्रेसको सहयोगमा र एमाओवादीको सहयोगमा एमालेले सरकारको नेतृत्व गर्ने अवसर पायो । क्रमशः एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस लगायत दलको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल माओवादीको समर्थनमा प्रधानमन्त्री बने । सत्ताबाट एमालेले हात कुनै पनि बेला झिक्नु परेन । यद्यपि, मधेशी दलको समर्थनमा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टाराई प्रधानमन्त्री बन्दा भने उनीहरु केही समयका लागि बाहिरिए । अघिल्लो संसद्मा सरकारमा जुनै बेला पनि एमालेले फाइदा लियो । जुन कुरालाई एमालेको “कम्मल ओढेर घिऊ खाने” शैलीका रुपमा पनि चित्रित गरिन्छ । एमाले र कांग्रेस २०४६ सालपछिका सबैभन्दा ठूला दुश्मन हुन् । अघिल्लो संसद्मा भने माओवादीको ठूलो आकारका कारणमात्र उनीहरुको रणनीतिक मिलाप सम्भव भएको हो । जुन सम्बन्धलाई अहिलेको निर्वाचन परिणामले निरन्तरता दिंदैन । एमाओवादी ट्याक्टीस एमाओवादीको सबैभन्दा ठूलो सूत्र हो– उपयोग गर, फुटाउ र राज गर । दीर्घकालमा आफूलाई फाइदा हुने काममा एमाओवादीले तत्कालका लागि कुनै पनि खालको “कम्प्रोमाइज” जजिलै गरिदिन्छ । यतिबेला उसको यही सूत्र हावी भएको छ । केही दिन अघि माओवादी नेता वर्षमान पुनले कांग्रेसलाई निःशर्त समर्थन गर्ने प्रस्ताव अघि बढाए । एमाले र कांग्रेसबीचको सम्बन्धको निरन्तरता नहोस् भन्नका लागि पनि एमाओवादीले फुटाउ र राज गरको रणनीति लिनेछ । उसले सरकारमा समर्थन गरेर कांग्रेसलाई उपयोग गर्ने । राष्ट्रपतिमा एमालेलाई समर्थन गर्ने भनेर भित्री रुपमा उक्साएको कसैबा छिपेको छैन । एमाओवादीले आफ्नो आकार घटेकाले कांग्रेस र एमालेलाई पालैपालो उपयोग गर्ने नीति लिनेछ । जसका कारण आगामी दिनमा सरकार र संविधानसभाका धेरै मुद्दाहरुमा एमाओवादी कसरतका प्रतिफल देखिनेछन् । २६ मनोनयन संविधानसभामा नागरिक समाज, विज्ञ र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गरेका २६ जना व्यक्तिलाई सरकारले मनोनित गर्ने प्रावधान छ । तर, खिलराज रेग्मी नेतृत्वको सरकारले त्यो आँट देखाउन सकेन र अब बन्ने सरकारलाई नै त्यो जिम्मेवारी छोडीदिएको छ । २६ मनोनयनमा रेग्मी र उनको सरकामा महत्वपूर्ण योगदान गरेकालाई पनि समावेश बनाउने चर्चा चलेको छ भने बाँकी संख्यामा प्रमुख दलहरुले भागवण्डा गर्ने निश्चित छ । संविधानसभा निर्वाचन परिणाम दल    प्रत्यक्ष सीटसंख्या    समानुपातिक सीटसंख्या नेपाली कांग्रेस     १०५     ९१ नेकपा एमाले     ९१    ८४ एनेकपा माओवादी    २६    ५४ मधेशीफोरम (लो.)    ४    १० तमलोपा     ४    ७ राप्रपा     ३    १० मधेशीफोरम नेपाल    २    ८ स्वतन्त्र     २     सद्भावना पार्टी    १    ५ तराई मधेश सद्भावना पार्टी     १    २ नेमकिपा    १    ३ राप्रपा नेपाल         २४ नेकपा माले         ५ संघीय समाजवादी        ५ राष्ट्रिय जनमोर्चा        ३ नेकपा (संयुक्त)        ३ राष्ट्रिय मधेश समाजवादी पार्टी         ३ राष्ट्रिय जनमुक्ति पार्टी        २ थरुहट तराई पार्टी        २ नेपाल परिवार दल         २ दलितज नजाति पार्टी        २ अखण्ड नेपाल पार्टी         १ मधेशी फोरम –गणतान्त्रिक)        १ नेपाली जनता दल        १ खुम्बुवान राष्ट्रिय मोर्चा        १ नेपाः राष्ट्रिय पार्टी        १ जनजागरण पार्टी         १ संघीय सद्भावना        १ मधेश समता पार्टी        १ समाजवादी जनता पार्टी        १ संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च(थरुहट)        १  


Posted on: 2014-Feb-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar