01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

१४८६– वाणिज्य बैंकका फैलदों शाखा सञ्जाल

18 - Aug-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0

काठमाडौं । आर्थिक वर्ष २०७१÷७२ को मौद्रीक नीति सार्वजनिक गर्ने क्रममा साउनको दोस्रो दिन नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रमकाबीच गभर्नर डा. युवराज खतिवडाले भने, “यो मौद्रीक नीति कार्यान्वयनका लागि राष्ट्र बैंक र यससँग काम गर्ने वित्तिय संस्थाहरुको स्थायित्व हाम्रो मुख्य चासो हो ।” गभर्नरको यो भनाई नयाँ होइन, तर यो भनाईले धेरै निहीत अर्थ बोकेको छ । नेपालमा दु्रत बढीरहेको बैंकिङ व्यवसाय पछिल्लो तीन दशकमा यसरी झ्यांगिएको छ– संस्थागत, प्रविधि उपयोग तथा विश्वबजारसँग यसको समीप्यता सबै हिसाबमा । बैंक वित्तिय संस्थाको फैलदों उपस्थितिसँगै राष्ट्र बैंकले पनि नियामकीय र सुपरिवेक्षकीय क्षमता बढाउनुपर्ने हुन्छ, यिनीहरुको स्थायित्वका लागि । मौद्रीक नीतिका लक्ष्यहरु पनि वित्तिय क्षेत्रको स्थायित्वका लागि सुशासनतर्फ केन्द्रीत रहेका छन् । मूल्य स्थिरता कायम राख्ने मौद्रीक नीतिको मुख्य लक्ष्यसँगसँगै वित्तिय पहुँच विस्तार, उत्पादनशील क्षेत्रको कर्जा विस्तार, तरलता व्यवस्थापनमा मौद्रीक नीतिले ध्यान पु¥याएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७१ असार महिनासम्म देशमा ३० वाणिज्य बैंक, ८४ विकास बैंक, ५३ वित्त कम्पनी तथा ३७ लघुवित्तले वित्तिय सेवा दिइरहेका छन् । यसमध्ये वाणिज्य बैंकहरुले १४८६ शाखाबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरुको शाखा संख्या ७६४, वित्त कम्पनीका २४२ तथा लघुवित्तका ६३४ शाखा सञ्चालनमा छन् । जसमा एक करोड २५ लाख १५ हजार निक्षेपकर्ता तथा ९ लाख १९ हजार ऋणी रहेका छन् । ठूलो सञ्जाल, ठूलो पुँजी, ठूलो निक्षेप र ऋण लगानी परिचालन गर्ने भएकाले वाणिज्य बैंकहरु नै वित्तिय क्षेत्रका आधार हुन् । वाणिज्य बैंकहरुलाई मजबुत बनाउने र यस क्षेत्रमा सुधार गर्ने ध्येयसहित राष्ट्र बैंकले यिनीहरुमाथि निगरानी पनि राखेको छ । हालै विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा सम्पन्न गरिएको “वित्तिय क्षेत्र मूल्यांकन कार्यक्रम” ले पनि वित्तिय क्षेत्रको स्थायित्वका लागि राष्ट्र बैंकको नियामकीय र सुपरिवेक्षकीय भूमिका बढाउन सुझाएको छ, सुपरिवेक्षक र नियामकबीचको समन्वयमा जोड दिएको छ । यसबाहेक वित्तिय क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताहरु– पूँजी पर्याप्तता, जोखिम वहन क्षमता सुधार, व्यवसाय गर्ने समान अवसर, सम्पत्ति शुद्धीकरण कानूनको परिपालनामा जोड दिइएको छ । वित्तिय संस्थाहरुको स्थायित्वका लागि वित्तिय संस्थाहरुमा सुशासन अभिवृद्धि गर्ने, मजबुत वित्तिय संस्था बन्नका लागि मर्जर तथा एक्विजिसनमा जान सक्ने, दक्ष मानवश्रोत अभिवृद्धि गर्ने, सञ्चालन जोखिम कम गर्ने, बैंकहरुलाई स्वनियमन कायम गर्न लगाउने जस्ता पक्षमा राष्ट्र बैंकले कदम चालिरहेको छ । यो अवधिसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसै क्रममा वाणिज्य बैंकहरुबाट प्रकाशित तेश्रो त्रैमाससम्मको वित्तिय विवरणका आधारमा यस अंकमा ३० वाणिज्य बैंकहरुका सम्बन्धमा विश्लेषण गरेका छौं । १) नबिल बैंक नबिल बैंक नेपालको वित्तिय क्षेत्रमा परिचित पुरानो बैंक हो । यस बैंकले हालै आफ्नो ३०औं वर्षगाँठ मनाएको छ । नेपाल अरब बैंकबाट सेयर स्वामित्व नेपाली पक्षले ग्रहण गरेपछि नबिल बैंक नामाकरण गरिएको यस बैंकले ७३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) दर ७.१५ प्रतिशत छ । बैंकको कुल ऋण लगानीमध्ये २.९६ प्रतिशत खराब कर्जा रहेको छ । बैंकले गत चैत्र मसान्तसम्म एक अर्ब ६४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकका देशभर ४९ शाखा सञ्जाल रहेका छन् । २) नेपाल इन्भेष्टमेन्ट बैंक इण्डोस्वेज बैंकको नाम परिवर्तन गरी नेपाल इन्भेष्टमेन्ट बैंक नामाकरण गरिएको यो बैंक पुरानो र स्थापित बैंक हो । यस बैंकले ७१ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ६.१ प्रतिशत छ । बैंकले गत चैत्र मसान्तसम्ममा एक अर्ब ३९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यस बैंकका देशभर ४४ शाखा सञ्जाल रहेका छन् । ३) राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी निक्षेप परिचालन गर्ने वाणिज्य बैंक हो । राष्ट्रिय वाणिज्य बैंकले विगतका खराब बर्जा असुलीलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय वाणिज्य बैंकले झण्डै एक खर्ब रुपैयाँको निक्षेप परिचालन गरी ५३ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७१÷७२ बाट कर्जा निक्षेप ब्याजदर अन्तर ५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको भएपछि अन्य बैंकहरुजस्तै यस बैंकको स्प्रेड दर पनि ६ प्रतिशतभन्दा माथि नै छ । यस बैंकले चैत्र मसान्तसम्म एक अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले देशभर १४८ शाखा सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको छ । ४) कृषि विकास बैंक सरकारको अधिकांश (५९ प्रतिशत) सेयर रहेको कृषि विकास बैंक देशमा कृषि क्षेत्रमा कर्जा प्रवाह गरी कृषि व्यवसायीकरणको उद्देश्यले स्थापना भएको हो । कृषि विकास बैंकमा सरकारले रणनीतिक साझेदार भित्र्याउन पहल गरिरहेको छ । जसका लागि चीनको चाइना कन्स्ट्रक्सन बैंक (सीसीबी) सँग कुराकानी अगाडी बढाइएको पनि थियो । कृषि विकास बैंक पनि शाखा सञ्जाल धेरै हुने बैंकहरुमध्येको हो । विकास बैंकसमेतको काम गर्ने शाखाहरुको संख्या गणना गर्दा यसका २३४ शाखाहरु सञ्चालनमा छन् । बैंकले ६६ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर चैत्र मसान्तसम्म ७.८५ प्रतिशत थियो । धेरै शाखा सञ्जाल र उच्च सञ्चालन लागतका कारण केही बैंकहरुको स्प्रेड केही उच्च छ । गत चैत्र मसान्तसम्ममा (त्रेस्रो त्रैमाससम्म) कृषि विकास बैंकले ८० करोड रुपैयाँ खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । ५) नेपाल बैंक लिमिटेड नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड अहिले राष्ट्र बैंकले व्यवस्थापन सम्हालिरहेको छ । सरकारको वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन राष्ट्र बैंकले लिएकोमा चाँडै नै बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाएर राष्ट्र बैंकले यसको व्यवस्थापन समितिलाई बैंक हस्तान्तरण गर्नेछ । नेपाल बैंक लिमिटेडले ६५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ४.५६ प्रतिशत छ । बैंकले गत चैत मसान्तसम्म ३८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकका देशभर ११६ शाखा सञ्जाल रहेका छन् । ६) हिमालयन बैंक हिमालयन बैंकले स्थापनाको दुई दशक पार गरिसकेको छ । बैंकले यो अवधिमा ६२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ६.३८ प्रतिशत रहेको छ । गत चैत्र मसान्तसम्ममा हिमालयन बैंकले ७९ करोड २८ लाख रुपैया खुद नाफा आर्जन गरेको छ । बैंकका देशभर ४४ शाखा सञ्जाल रहेका छन् । ७) एभरेष्ट बैंक भारतको पञ्जाब नेशनल बैंकको लगानीमा स्थापित एभरेष्ट बैंक धेरै शाखा सञ्जाल हुने बैंकहरुमध्ये एक हो । बैंकका देशभर ५२ शाखा सञ्जाल रहेका छन् । एभरेष्ट बैंकले ६२ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर चैत मसान्तसम्म ६.५४ प्रतिशत रहेको थियो । बैंकले चैत मसान्तसम्म १ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको । बैंकले ठूला लगानीका साथै साना मझौला उद्यम र कृषि क्षेत्रमा छुट्टै डेस्क स्थापना गरी लगानी गरिरहेको छ । ८) नेपाल एसबीआई बैंक  स्टेट ब्यांक अफ इण्डियाको लगानीमा स्थापित नेपाल एसबीआई बैंक ठूलो निक्षेप र कर्जा परिचालन गर्ने बैंकहरुमध्ये एक हो । बैंकले यो अवधिमा ५१ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.७५ प्रतिशत छ । ऋण पोर्टफोलियोका आधारमा राम्रो नाफा आर्जन गर्ने बैंकहरुमध्ये एसबीआई बैंक एक हो । बैंकले चैत्र मसान्तसम्म ६७ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकका देशभर ५६ शाखा सञ्जाल छन् । ९) ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंक मर्जरको सफल उदाहरण पेश गर्ने वित्तिय संस्था हो । आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकसँग मर्जर सम्पन्न गरेको यस बैंकको ग्राहक आधार र शाखा संख्या मर्जरसँगै उल्लेख्य वृद्धि भएको छ । बैंकले यस अवधिमा ४९ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.७७ प्रतिशत रहेको छ । चैत्र मसान्तसम्म बैंकले ७२ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले देशभर ८३ शाखा सञ्जालमार्फत् सेवा प्रदान गरिरहेको छ । १०) स्ट्याण्डर्ड चार्टर्ड बैंक बेलायतको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विश्वका अन्य देशमा जस्तै नेपालमा पनि बैंकिङ कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको छ । बैंकले यो अवधिमा ४२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ७.३८ प्रतिशत रहेको छ । गत चैत्र मसान्तसम्म बैंकले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकका देशभर १६ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । ११) एनआईसी एसिया बैंक एनआईसी बैंक र बैंक अफ एसिया गाभिएर बनेको एनआईसी एसिया बैंक पनि धेरै निक्षेप तथा कर्जा परिचालन गर्ने वाणिज्य बैंकहरुमध्ये एक हो । एनआईसी एसिया बैंकले यो अवधिमा ४० अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.३६ प्रतिशत रहेको छ । चैत्र मसान्तसम्म (त्रेस्रो त्रैमास) बैंकले ६२ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकका देशभर ६७ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । १२) माछापुछ«े बैंक पोखरामा केन्द्रीय कार्यालय रहेको माछापुछ«े बैंकले ३३ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल कर्जाको २.२ प्रतिशत खराब कर्जा रहेको छ । जुन बैंकिङ क्षेत्रको औसतभन्दा न्यून हो । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.६५ प्रतिशत रहेको छ । गत वर्षको तेश्रो त्रैमाससम्म बैंकले ३१ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर ५४ शाखा कार्यालयमार्फत् सेवा दिइरहेको छ । १३) सिद्धार्थ बैंक सिद्धार्थ बैंक ३२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ४.१७ प्रतिशत रहेको छ । बैंकले देशभर ४६ शाखाहरुमार्फत् बैंकिङ सेवा दिइरहेको छ । बैंकको खराब कर्जा कुल कर्जाको ३.१४ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३६ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १४) प्राइम कमर्सियल बैंक वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सियल बैंकले ३० अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, बैंकले २५ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.६६ प्रतिशत रहेको छ । बैंकले गत वर्षको तेश्रो त्रैमाससम्म ४२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको कुल कर्जाको २.०१ प्रतिशत खराब कर्जा रहेको छ । प्राइम कमर्सियल बैंकका देशभर ३२ शाखा सञ्चालनमा रहेका छन् । १५) बैंक अफ काठमाडौं बैंक अफ काठमाडौं (बीओके) २९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल ऋणमध्ये खराब कर्जा १.५२ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.७३ प्रतिशत छ । बैंकले गत वर्षको तेश्रो त्रैमाससम्म ३५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले देशभर ५० शाखामार्फत् सेवा दिइरहेको छ । १६) लक्ष्मी बैंक पछिल्लो समयमा आएका वाणिज्य बैंकहरुमध्ये लक्ष्मी बैंकले २९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै बैंकले २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल कर्जामध्ये खराब कर्जा २.२१ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.१३ प्रतिशत छ । बैंकले गत आर्थिक वर्ष चैत्र मसान्तसम्ममा २३ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर २९ शाखा कार्यालयहरुमार्फत् सेवा दिइरहेको छ । मोबाइल बैंकिङ र शाखारहित बैंकिङमार्फत् पनि बैंकले दुर्गम जिल्लाहरुमा राम्रो उपस्थिति जनाएको छ । १७) कुमारी बैंक कुमारी बैंक २७ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल कर्जामध्ये ३.६९ प्रतिशत खराब कर्जा रहेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.१७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको त्रेस्रो त्रैमाससम्ममा बैंकले १९ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको देशभर २८ शाखा कार्यालयहरु सञ्चालनमा छन् । १८) सनराइज बैंक दुगड समूहको अगुवाइमा स्थापना भएको सनराइज बैंक मुलुकका पछिल्ला वाणिज्य बैंकहरु मध्येको एक हो । बैंक स्थापनाको एक दशकको अवधिमा बैंकले २६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कुल कर्जामध्ये खराब कर्जा खराब कर्जा ३.६२ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ६.८१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको त्रेस्रो त्रैमाससम्म बंैकले २७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर ५२ शाखा कार्यालयहरुमार्फत् सेवा प्रदान गरिरहेको छ । १९) एनएमबी बैंक एनएमबी बैंकले यो अवधिमा २५ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल कर्जामध्ये खराब कर्जा १.५८ प्रतिशत छ । कम खराब कर्जा हुनेमा एनएमबी बैंक उत्कृष्ट दश वाणिज्य बैंक भित्र पर्छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ४.३९ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकका देशभर २९ शाखा सञ्चालनमा छन् । बैंकले उपत्यकाभित्र १२ र उपत्यकाबाहिर १७ शाखा सञ्चालन गरेको छ । २०) सिटीजन्स बैंक सिटीजन्स बैंकले २५ अर्ब ४ करोड रुपैयाँ निक्षेप तथा २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल कर्जामध्ये खराब कर्जा २.३९ प्रतिशत रहेको छ । बैंकको कर्जा र निक्षेप ब्याजदर अन्तर ६.०३ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म ३० करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर ४३ शाखामार्फत् सेवा प्रदान गरिरहेको छ । २१) एनबी बैंक बंगलादेशको आइसीएफसी बैंकको साझेदारीमा सञ्चालनमा रहेको एनबी बैंकले २३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल कर्जामध्ये खराब कर्जा १.८ प्रतिशत र कर्जा निक्षेप ब्याजदर अन्तर ६.१२ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म ४० करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर २७ शाखा कार्यालयहरुमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ । २२) एनसीसी बैंक नेपाल क्रेडीट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले यो अवधिमा २२ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल कर्जामध्ये खराब कर्जा ३.४ प्रतिशत रहेको छ । त्यस्तै, कर्जा निक्षेप ब्याजदर अन्तर बैंकिङ उद्योगमै सबैभन्दा कम ३.२१ प्रतिशत छ । बैंकमा सञ्चालकहरुको विवादका कारण अहिले बैंकको व्यवस्थापन राष्ट्र बैंकले सम्हालिरहेको छ भने चाँडै नै साधरणसभा गराएर सञ्चालक समितिलाई बैंक हस्तान्तरण गरिने राष्ट्र बैंकले जनाएको छ । भैरहजा मुख्य कार्यालय रहेको यस बैंकले देशभर २२ शाखा कार्यालयमार्फत् सेवा प्रदान गरिरहेको छ । २३) सानिमा बैंक गैर आवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको सानिमा बैंक विकास बैंकबाट स्तरोन्नति भई वाणिज्य बैंक बनेको हो । बैंकले आफ्नो सेवा सञ्चालनको यो अवधिमा २७ शाखा कार्यालयहरुबाट सेवा प्रवाह गरिरहेको छ । सानिमा बैंकले २० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा बैंकिङ उद्योगमै कम ०.०५ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.१८ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म कुल ३२ करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । २४) किस्ट बैंक फाइनान्स कम्पनीबाट स्तरोन्नति हुँदै वाणिज्य बैंक बनेको किष्ट बैंकले १९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, बैंकले १४ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा बैंकिङ उद्योगमै सबैभन्दा धेरै २३.७२ प्रतिशत रहेको छ । बैंकलाई नियामक राष्ट्र बैंकले नयाँ ऋण लगानीमा भन्दा असुलीमा केन्द्रीत हुन निर्देशन दिएको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ६.३१ प्रतिशत रहेको छ । बैंकले देशभर ५२ शाखा कार्यालयहरुमार्फत् सेवा प्रदान गरिरहेको छ ।  बैंकले गत आवको तेश्रो त्रैमासमा २१ करोड ३६ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । किस्टमा प्रभु विकास बैंक गाभेर यसलाई सुदृढ गर्न प्रभु ग्रुपले प्रक्रिया अघि बढाइसकेको छ । २५) ग्राण्ड बैंक पुरानो डिसीबीएल बैंकलाई नाम परिवर्तन गरी ग्राण्ड बैंक बनाइएको हो । बैंकले यो अवधिमा १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.२ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा केही उच्च रहेको छ । बैंकको कुल कर्जा लगानीको ४.५५ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म ८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले २२ शाखा सञ्जालमार्फत् देशभर सेवा विस्तार गरिरहेको छ । २६) सिभिल बैंक सिभिल बैंकले पछिल्लो समयमा आक्रामक रुपमा देशभर शाखा सञ्जाल विस्तार गरिरहेको छ । बैंकको कुल शाखा संख्या ४० पुगेको छ । यो अवधिमा बैंकले १८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल कर्जामध्ये १.५७ प्रतिशतमात्र खराब कर्जा रहेको छ । त्यस्तै बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ४.१ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म ७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २७) मेगा बैंक पछिल्लो समय आएका बैंकहरुमध्ये मेगा बैंकले पनि ठूलै निक्षेप तथा कर्जा परिचालन गरेको छ । बैंकले यो अवधिमा १७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल कर्जामध्ये १.९९ प्रतिशत खराब कर्जा रहेको छ । बैंकको कर्जा निक्षेप ब्याजदर अन्तर ५.६६ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्म २५ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर २९ शाखा सञ्जालमार्फत् सेवा प्रदान गरिरहेको छ । २८) सेञ्चुरी बैंक सेञ्चुरी बैंक वाणिज्य बैंकहरुमध्ये कान्छो बैंक हो । बैंकले यो अवधिमा १६ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.६७ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अन्तर ४.२५ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमासमा ६ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको देशभर ३१ शाखा सञ्चालनमा रहेका छन् । २९) जनता बैंक जनता बैंकले सञ्चालन अवधिमा १६ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल कर्जाको १.३९ प्रतिशत खराब कर्जा रहेको छ भने कर्जा निक्षेप ब्याजदर अन्तर ४.६३ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्ममा  ४ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको शाखा संख्या ३२ रहेको छ । ३०) लुम्बिनी बैंक निजी क्षेत्रका बैंकहरुमा ऋणात्मक नेटवर्थलाई  सुधार गरेर देखाएको लुम्बिनी बैंकको सुधारलाई निजी क्षेत्रका बैंकहरुमध्येमा नमुना सुधार मानिन्छ । चितवनमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बैंकले यो अवधिमा १३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.५३ प्रतिशत रहेको छ भने कर्जा निक्षेप ब्याजदर अन्तर ४.९७ प्रतिशत रहेको छ । बैंकले गत आवको तेश्रो त्रैमाससम्ममा १४ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले देशभर २० शाखा सञ्जालमार्फत् सेवा प्रदान गरिरहेको छ ।  


Posted on: 2014-Aug-18


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar