09 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालको सम्वृद्धिका आठ सहर

20 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0
नेपालको अर्थतन्त्र धीमा गतिमा अघि बढ्दैछ । देशका केही आर्थिक केन्द्रहरूको समुन्नतिले विस्तारै आसपासका क्षेत्रहरूमा पनि औद्योगिकरण पनि बढिरहेको छ । सशस्त्र द्वन्द्व, अस्थिरता र बन्द हड्तालजस्ता अनेकौं कारणहरूका बाबजुद पनि नेपाली उद्योगहरू विस्तारै सुधारको दिशामा अग्रसर छन् । देशभित्र केही भएन भनेर विदेशीनेहरूमा पनि अब आशाको सञ्चार हुन लागेको छ । केही राम्रो छ भन्ने सन्देश दिएको छ ।

 

 
नीजि क्षेत्र जति सफलताका साथ अघि बढेको छ, सरकारी उद्योगहरू भने त्यही दाँजोमा पछि हट्तै गएका छन् । बारा–पर्सा औद्योगिक करिडोरमा बहुराष्ट्रिय कम्पनीहरूले खोलेका र नीजि क्षेत्रका व्यापारीको पहलमा खुलेका उद्योगहरूले उल्लेख्य प्रगति गर्दै गइरहेका छन् भने कुनै बेला राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पु¥याएका विराटनगर जुटमिल र जनकपुर चुरोट जस्ता उद्योगहरू क्रमशः अवसान र सुधारको दिशामा छन् । नेपालका कतिपय सहरहरू ठूला व्यापारिक केन्द्रका रुपमा विकास भएका छन् । 

 

 
यस्ता आर्थिक केन्द्रहरूले आफ्ना आसपासका ठाउँहरूलाई औद्योगिकरण गर्दै लगेका छन् । भरतपुर–वीरगञ्ज करिडोर नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रका रुपमा देखिएको छ । भरतपुर, रत्ननगर, हेटौंडा, गौर, कलैया तथा वीरगञ्जमा क्षेत्रमा सञ्चालित उद्योगहरूले राज्यलाई ठूलो हिस्सामा राजश्व बुझाउँदै आएका छन् । यी उद्योगहरूले मात्र नेपालको कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत हिस्सा ओगटेका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा मात्र ३५ भन्दा बढी उद्योगहरू सञ्चालित छन् ।  

 

 
नेपालको संवृद्धिका केन्द्र मानिएका यी सहरहरूले एकपछि अर्को गर्दै नयाँ–नयाँ आर्थिक केन्द्रहरूको विकास गर्दै छन् । नयाँ पुष्पलाल लोकमार्ग निर्माण भएपछि यस आसपासका विभिन्न दश बस्तीमा साना मझौला सहर बसाउने योजना सहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ । यसले सम्पूर्ण देशलाई आर्थिक विकासको लागि घच्घच्याएको छ । 

 

 
राजधानी सहर काठमाडौंः

 
काठमाडौंले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लालाई समेट्छ । यहाँ पहाडि जिल्लाहरू धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाहरू जोडिन्छन् । मुलुकको कुल भूभागको १० प्रतिशत र जनसङ्ख्याको १५ प्रतिशत काठमाडौं उपत्यकाले समेट्छ । काठमाडौं सबैभन्दा पुरानो शहर हो । 

 

 
काठमाडौंले पूर्वमा भक्तपुर हुँदै काभ्रेको बनेपा–बर्दिवास राजमार्गले तराईलाई जोड्छ भने पृथ्वी राजमार्गबाट मुगलिङ–पोखरा र महेन्द्र राजमार्गबाट दक्षिण तराई हुँदै भारतीय सीमासम्म जोडिन्छ । त्यस्तै अरनिको राजमार्गले उत्तरतर्फ कोदारी, चिनियाँ सीमासम्म सडक सुविधा उपलब्ध छ । सन् २०१० कम धुलिखेल सिन्धुली सडक मार्गले जोडेपछि जनकपुर क्षेत्रबाट समेत यातायात सञ्चालन हुनेछ । यसले पूर्वी तराईलाई वैकल्पिक मार्ग प्रदान गर्नेछ । 

 

 
एसियाली विकास बैंक र चीन सरकारको सहयोगमा निर्मित रसुवाढी नाकाले चीनसँगको व्यापार बढाउन सहयोग गर्नेछ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका मुख्य केन्द्रहरूमा (पोखरा, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्ज) हवाइ सेवा सञ्चालन हुँदै आएको छ । 

 

 
यो क्षेत्रमा बसोबास गर्नेहरूको प्रतिव्यक्ति आम्दानी ३५ हजार रुपैंया रहेको छ । औद्योगिक क्रियाकलापको केन्द्र मानिने यस सहरमा कृषिको अनुपात भने नगण्य रहेको छ । उपत्यका बाहिर कृषिले कुल गार्हस्थ उत्पादनमा ४६ प्रतिशत हिस्सा ओगट्ने भए पनि  उपत्यकामा भने कुल गार्हस्थ उत्पादनको ४९ प्रतिशत हिस्सा सेवा क्षेत्रले धान्दै आएको छ । काठमाडौंले देशभरका कुल उद्योगको ३० प्रतिशत हिस्सा ओगटेको छ । जहाँ ३५ प्रतिशतभन्दा बढी कामदार आवद्ध छन् । टेक्स्टाइल, एपेरल, कार्पेट, खाद्यान्न, रसायन, काष्ठ उद्योग यस क्षेत्रमा सञ्चालित छन् । धेरै जसो पाँचतारे सुविधासम्पन्न होटलहरू पनि यही क्षेत्रमा छन् । मुलुकको सबैभन्दा जेठो विश्वविद्यालय खुलेकोले यस क्षेत्रलाई शैक्षिक गन्तव्यको रुपमा पनि लिइन्छ । 

 

 
उद्योगधन्दा र जनघनत्वका हिसाबले काठमाडौ नेपालको सबैभन्दा ठूलो सहर हो । देशको वार्षिक विकास बजेटको १८ प्रतिशत हिस्सा यस क्षेत्रमा खर्च हुने गर्दछ । 

 

 
आर्थिक केन्द्र वीरगञ्जः

 

 
वीरगञ्ज–भरतपुर करिडोरले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन जिल्लालाई समेट्छ । वीरगञ्ज नेपालको आर्थिक केन्द्र हो । त्यसो त वीरगञ्जलाई सुख्खा बन्दरगाहको नामले पनि चिनिन्छ । दक्षिणी छिमेकी भारतसँगको व्यापारिक नाका वीरगञ्ज क्षेत्र औद्योगिक केन्द्र पनि हो । व्यापारिक दृष्टिले नेपालको मुख्य नाका हो । भरतपुर, रत्ननगर, हेटौंडा, गौर, कलैया तथा वीरगञ्जमा क्षेत्रमा नेपालका अधिकांश उद्योगहरू स्थापित छन् । विराटनगरबाट सुरु भएको औद्योगिकरण विस्तारै यस क्षेत्रमा विस्तार भएको हो । भारतमा रेल सेवासेवाले हल्दिया र कलकत्तासँग जोड्ने भएकोले यो क्षेत्र व्यापार नाकाको रुपमा स्थापित भएको हो । त्यस्तै यस क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराको नीजगढलाई अध्ययन गरिएको छ । युनी लिभर, डाबर नेपाल, सूर्य नेपाल, कोल्गेट पाल्मोलिभ लगायतका बहुराष्ट्रिय कम्पनीहरूको उद्योग यस क्षेत्रमा स्थापित छन् । 

 

 
यस क्षेत्रमा फलामे छड, सिमेन्ट, चीनि, , विस्कुट, चाउचाउ, चुरोट, वियर, साबुन, टेक्सटाइल, फर्निचर, छाला, टुथपेष्ट, टायर आदि उद्योगहरू सञ्चालनमा रहेका छन् । कृषि उत्पादनमा पनि यो क्षेत्र अगाडि छ । यहाँ धान, गहूँ, मकै, जौ, आलु, सुर्ती, उखु, दाल, सागपात तरकारी, कफी र फलफूल समेत उत्पादन हुन्छ । भरतपुर– वीरगञ्ज क्षेत्रले औद्योगिक उत्पादनको ३८ प्रतिशत हिस्सा ओगट्छ, जुन कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत हो । यस क्षेत्रमा ४० प्रतिशत जङ्गल रहेको छ भने १८ प्रतिशत खेतीयोग्य जमिन र ७२ प्रतिशतमा मानिसहरूको बसोबास रहेको छ । 

 

 
वीरगञ्जले  शहरीकरणको प्रशस्त सम्भावना समेत बोकेको छ । केही वर्षयता यस क्षेत्रको जनघनत्व उच्च रुपमा बढिरहेको छ । 

 

 
औद्योगिकरणको सुरुवात, विराटनगरः विराटनगर नेपालको दोस्रो ठूलो सहर हो । विराटनगर पूर्वी क्षेत्रका खोटाङ, उदयपुर, सिरहा, संखुवासभा, भोजपुर, धनकुटा, पाँचथर, ताप्लेजुङलगायत ११ जिल्लाको आर्थिक केन्द्र हो । झापा, सुनसरी र सप्तरीको केन्द्रका रुपमा पनि विराटनगरलाई नै लिइन्छ । राजधानीसँग विराटनगरलाई पूर्वपश्चिम राजमार्गले जोडेको छ । यस क्षेत्रमा दुईओटा उत्तर–दक्षिण करिडोरहरू रहेका छन् ।

 

 

कोसी राजमार्गले धरान, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभालाई जोडेको छ भने मेची राजमार्गले भद्रपुर, विर्तामोड, इलाम, पाँचथर, ताप्लेजुङलाई समेट्छ । विराटनगर क्षेत्रको जोगबनी र बराह क्षेत्र सबैभन्दा व्यस्त ‘ब्रोडर क्रसिङ प्वाइन्ट’ हो । विराटनगर विमानस्थलबाट भद्रपुर, काठमाडौं लगायतका क्षेत्रमा आन्तरिक उडान हुन्छ भने काँकडभिट्टा नाकाले भारतसँगको सीमाना जोडिन्छ । पहिले विराटनगर विमानस्थलबाट बाट पटना र कलकत्तामा पनि उडान हुँदै आएको थियो । विराटनगर क्षेत्रमा तुम्लिङटार (संखुवासभा), भोजपुर र ताप्लेजुङमा साना विमानस्थलहरू छन् । इलामको पुवाखोला, जलविद्युत आयोजना, चतरा, धनकुटा फिदिम, गोर्खे लगायतका जलविद्युत आयोजनाहरू यस क्षेत्रमा सञ्चालित छन् । 

 

 
यस क्षेत्रलाई खानी तथा खनिज उद्योगको पनि सम्भाव्यता अध्ययन गरिएको छ । यस क्षेत्रमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा खानी पनि सञ्चालन गरिएको छ । विराटनगर क्षेत्रमा सिमेन्ट, फलामे छड, चिया, बिस्कुट, मैदा मिल लगायतका उद्योगहरू सञ्चालितमा छन् । विराटनगरमा सञ्चालित सबैभन्दा ठूलो उद्योग जुटमिल भने बन्द भैसकेको छ । बहुउद्देश्यीय कोसी परियोजना पनि यसै क्षेत्रमा सञ्चालित छ ।  व्यापारका दृष्टिले विराटनगरबाट धरान, विर्तामोड, काकरभित्ता, पशुपतिनगर, लहान, गाईघाट र इटहरी पनि व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएका छन् । 

 

 
पर्यटकीय नगरी पोखराः

 

 
पश्चिम नेपालको गण्डकी अञ्चलको सदरमुकाम हो– पोखरा । नेपालको पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । समुद्री सतहबाट ८८४ मिटर उचाइमा रहेको पोखरा अत्यन्त सुन्दर सहर हो । अन्नपूर्ण हिम शृङ्खला र माछापुछ«े हिमालको फेदीमा छ । जनवरीदेखि अप्रिलसम्म पोखरामा नाचगानको पर्व मनाइन्छ ।   

 

 
पर्यटकीय दृष्टिले पोखरामा फेवाताल, विमानस्थल नजिकैको बाटुलेचौर गुफा (महेन्द्र गुफा), विन्ध्यवासिनी मन्दीर, सेती नदी, डाँफे क्लव यहाँका आकर्षण हुन् । लेकसाइड पोखरामा पर्यटकहरूको गन्तव्य हो । त्यसो त पोखराको मालेपाटन साना उद्योगहरूको केन्द्र हो । जहाँ हस्तकलाका सामग्रीहरू उत्पादन हुने गर्दछ ।

 

 
यहाँ उत्पादन हुने तिब्बेतियन हस्तकलाका सामग्री विदेशमा समेत निर्यात हुने गर्दछ । रोदीघर पोखराका पुराना पहिचान हुन् । त्यसो त आजभोलि प्रशस्त दोहोरी र डान्स रेष्टुरेन्टहरू पनि खुलेका छन् । डाँफे क्लब जहाँ हरेक साँझ दोहोरी गीत र सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछ । होटल दीपसागर, चिप्लेढुङ्गास्थित देउराली होटल यहाँका राम्रा होटहरू हुन् । थकाली खाना पोखराको पुरानो पहिचान पनि हो । पोखराको पर्यटकीय आकर्षणका कारण पर्यटकहरू पोखरा हुँदै लुम्बिनीसम्म पुग्ने गर्दछन् । 

 

 
पोखरामा अन्तर्राष्ट्रिय स्थलको विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थल निर्माणपछि पोखराको पर्यटन व्यापारमा उल्लेख्य वृद्धि हुनुका साथै अन्य व्यापारिक आयामहरू फस्टाउन सक्छन् ।

 

 
भैरहवाः

 

 
भैरहवा लुम्बिनी रुटमा पर्ने सहर हो । जुन नेपाल भारत सीमानामा पर्दछ । विशेष आर्थिक क्षेत्र आयोजनाले भैरहवामा ५४ विगाह क्षेत्रफलमा उद्योग स्थापना गर्ने भएपछि यो क्षेत्र औद्योगिक सहरका रुपमा विकसित हुने अपेक्षा गरिएको छ ।  विशेष आर्थिक क्षेत्र आयोजनाले भैरहवामा प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ भने खानेपानी, ढल निकासको व्यवस्थाका साथै भित्री सडक कालोपत्रे गर्ने, विद्युतीकरण, टेलिफोन जडान, प्रशासनिक भवन निर्माण लगायत सबै पूर्वाधार विकास भइसकेका छन् भने  समय भैरहवा–सुनवल राजमार्गबाट आर्थिक क्षेत्रसम्म जोड्ने बाटो अझ फराकिलो पार्न लागिएको छ । 

 

 
नेपालगञ्जः

 

 
नेपालको सुदूरपश्चिम क्षेत्रको आर्थिक केन्द्र हो– नेपालगञ्ज । नेपालगञ्जले सडकबाटोबाट सुर्खेत र तुलसीपुर, घोराहीलाई जोडेको छ भने कर्णाली राजमार्गले कालीकोट, जुम्ला, दैलेख लगायतका जिल्लाहरूमा समेत मोटरबाटो पुगेकाले नेपालगञ्जको व्यापार अझ सहज भएको छ । नेपालगञ्ज विमानस्थलसँगै यस क्षेत्रमा जुम्ला, सीमिकोट, गमगढी (मुगु), दुनैमा हवाई सेवा उपलब्ध छ । चुन ढुङ्गाको प्रशस्त सम्भाव्यता भएकाले दाङ लगायतका क्षेत्रमा सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । नेपालगञ्ज क्षेत्रले कुल गार्हस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगटेको छ ।  यस क्षेत्रमा फोक्सुन्डो, रारा, बर्दिया राष्ट्रिय निकुञ्जहरू रहेका छन् ।  नेपालगञ्ज भारतसँगको महत्वपूर्ण नाका हो । यस क्षेत्रमा तिब्बतको हिल्साबाट हुम्ला हुँदै व्यापारिक गतिविधि बढाउने विषयमा अध्ययनहरू भइरहेका छन् । 

 

 
धनगढी ः

 

 
धनगढी सुदूरपश्मि क्षेत्रका अछाम, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर जस्ता ९ ओटा जिल्लाको आर्थिक केन्द्रबिन्दू हो । यहाँ वासुलिङ्ग चिनी मिल, नेपाल रोजिन एण्ड टर्पेन्टाइन कम्पनी र सेती सिग्रेट सञ्चालनमा छन् । त्यस्तै चमेलिया जलविद्युत आयोजना पनि यसै क्षेत्रमा स्थापना भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष यस क्षेत्रको आकर्षण हो । धनगढी विमानस्थलबाट काठमाडौं–धनगढी उडान हुँदै आएको छ 

 

 
जनकपुरः

 

 
जनकपुरमा ६० भन्दा बढी उद्योगहरू सञ्चालनमा छन् । जनकपुरको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको जनकपुर चुरोट कारखाना पछिल्लो समय सुधारको क्रममा छ । केही समय अघि जनकपुर–जयनगर सञ्चालन हुँदै आएको थियो । जनकपुरमा वेभरेज, वनजङ्गलमा आधारित उद्योगहरू, मैदा मिल, चिनी कारखाना र फर्निचर कारखाानाहरू सञ्चालनमा छन् । जापान सरकारको सहयोगमा निर्माणधीन धुलिखेल–बर्दिवास राजमार्ग सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, महत्तोरीलगायत नेपालका पूर्वी क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् भने जनकपुर व्यापारिक क्षेत्रका रुपमा विकसित हुनेछ ।  

Posted on: 2012-Jun-20


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar