02 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फुट्ने नै हो त एकीकृत नेकपा माओवादी ?

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

पार्टी एकताको कुरा गरेर कहिल्यै पनि नथाक्ने एकीकृत नेकपा माओवादी शीर्ष नेताहरुको पछिल्लो व्यवहार र जुहारीले कार्यकर्ता सशंकित भएका छन् । शीर्ष नेताहरुको गुट–उपगुट र निषेधको राजनीतिले पार्टीभित्रका बैचारिक मतभेद् एकपछि अर्को गर्दै छताछुल्ल हुँदै गएका छन् । शीर्ष तहका नेताहरुका आ-आफ्नै तर्क भेला र व्याख्याले पछिल्लो समयमा माओवादी टुक्रा-टुक्रा हुन्छ कि भन्ने लख धेरैले काट्न थालेका छन् ।  

 

 
अहिले स्पष्ट रुपमा तीन धारमा देखिएको माओवादी नेतृत्वमा शीर्ष नेताहरु बैचारिक मतभेद्कै कारण एक-अर्कालाई एक्ल्याएर आफू अघि बढ्न कम्मर कसेर लागेका छन् । वैशाखको पहिलो सातापछि नेताहरुले पार्टीभित्रको चरम बिबाद र आन्तरिक मतभेदलाई सतहमै पोखे ।  

 

 
गत मंसिर पहिलो साता गोरखाको पालुङ्टारमा भएको बिस्तारित बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको बुई चढेर जनविद्रोहको लाइन पारित गरेपछि असन्तुष्ट बनेका अर्का उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई पार्टीबाट एक्लिएननमात्र उनले पार्टी लाइनबाटै भारत परस्तको आरोप समेत खेप्नु पर्‍यो । 

 

 
यद्यपि, उपाध्यक्ष वैद्यलाई रिझाउन विद्रोहको नीति अंगिकार गरेका अध्यक्ष दाहाल यु-टर्न भएर शान्ति-प्रक्रिया र संविधान लेखनमा बाधा पुगेको भन्दै झन्डै ७ हजार कार्यकर्ताको निर्णय लत्याएर ६ महिना नबित्दै वैशाख पहिलो साताको केन्द्रीय कमिटी बैठकबाट जनविद्रोह छोडेर शान्ति र संविधानको बाटो अँगाले । त्यो पनि दाहालले नै किरण पक्षलाई बोकेर चिड्याएका उपाध्यक्ष बाबुराम भट्टराईको सहयोगमा । यसरी एकपछि अर्को गर्दै पार्टीभित्रकै नेताहरुलाई आफ्नो स्वार्थमा अनकुल काखि च्याप्दै  हिँडेका माओवादी अध्यक्ष दाहालकै बुज्रुकपनले माओवादी पार्टी फुटको संघारमा पुगेको हो भन्ने चर्चा चल्न थालेको छ । 

 

 
  पार्टीका यी तीन शीर्ष नेताको देखाउँने र चपाउँने दाँत फरक रहेछ भन्ने पुष्ट्याइँ केही दिनअघि रौतहटमा पार्टीको कार्यक्रममा सहभागी हुन पुगेका तीन शीर्ष नेताहरुको रबैयाबाट पनि देखिएको छ । दाहाल भट्टराई र वैद्य तीनै नेताहरुले पार्टी फुट्नै नसक्ने ओठे प्रतिबद्धता जनाएर एउटै माचमा दुई घन्टाभन्दा बढी समय बिताए पनि एक-अर्कामा सामान्य बोलचालसमेत नहुनुले नेतृत्व  विवाद र असन्तुष्टि कतिसम्म रहेछ भन्ने कार्यकर्ता तथा आम सर्वसाधारणले प्रष्टै बुझे ।  

 

 
यतिबेला पार्टी अध्यक्ष दाहालको च्याँखे कार्यशैलीले वैद्य र भट्टराई दुवै पक्ष नराम्ररी चिढिएका छन् । पछिल्लॊ समय शान्ति र संविधानमा केन्द्रित रहन आफ्नो सुरक्षाका लागि खटाइएका लडाकूहरु बिदा गरेर दोहोरो सुरक्षा प्रणाली त्याग्नेदेखि लडाकू समायोजन र पुनस्र्थापनाको काम थाल्ने विषयको गहन निर्णयसमेत वैद्य समूहको सहमतिबिना नै दाहालले पारित गराए । त्यसपछि अध्यक्ष दाहाल पक्षसँग झन आगो भएको वैद्य पक्षले एमालेसँगको गठबन्धन जोगाउन पार्टीभित्र पर्याप्त छलफल नै नगरी जनमुक्ति सेना सरकारलाई बुझाउन खोजेको आरोप लगायो । यस्तै अन्तर्विरोध र आफ्नै पार्टीभित्र भालेभिडन्त भएपछि अध्यक्ष दाहालले पार्टी हितविपरीत बोल्ने र बद्ख्याइँ गर्नेलाई कार्वाही गर्ने योजना समेत बुने ।   

 

 
त्यसयता झनै आन्तरिक मतभेदले झनै थिलथिलो भएका माओवादी शीर्ष नेताहरु आजभोलि सार्वजनिकरुपमै एक-अर्काको आलोचनामात्र गर्दैनन् खुलेरै आफ्ना असहमति राख्दै अर्को पक्षको खैरो खन्न थालेका छन् । पार्टीभित्र चरम गुटबन्दी र अन्तर्विरोधबारे अहिले एनेकपा माओवादीका सचिव सिपी गजुरेलले समेत सार्वजनिकरुपमै अभिव्यक्ति दिन थालेका छन् । 'अध्यक्षले आफूखुशी गरेका निर्णय मान्नुपर्ने कुनै बाध्यता अरु नेतालाई छैन ।' गजुरेल भन्छन् - 'आन्तरिक रुपमा पर्याप्त बहस र छलफल नगरी एकलौटी ढंगले अध्यक्ष कम्रेड अघि बढे पार्टीका लागि नै त्यो घातक हुन्छ ।' 

 

 
प्रधानमन्त्रीको चुनाव हुनुभन्दा अघि एमालेको झलनाथ खनाल खेमासँग गोप्य रुपमा गरेको सात बुँदे सहमतिअनुसार सरकारको नेतृत्व गर्ने पालो माओवादीको भए पनि अब आफू प्रधानमन्त्री नबन्ने भन्दै दाहालले उपाध्यक्ष डाक्टर भट्टराईलाई प्रधानमन्त्रीको कुर्सी लागि लोभ देखाएका छन् । अध्यक्ष दाहालको रणनीति राम्ररी बुझेर पनि उनले देखाएको ललिपपमा भट्टराई समेत मख्ख पर्दै प्रधानमन्त्री बन्न हतारिएका छन् । यही लोभमा फसेर संविधानसभाको म्याद थप्नुअघि दलहरुबीच भएको पाँचबुँदे सहमतिअनुसार तत्काल राजिनामा गरेर राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री खनाललाई भट्टराईले आग्रह गरिरहेका छन् ।  

 

 
जबकि वैद्य पक्ष भने तत्काल सरकार परिवर्तन गर्नेतर्फ नलागी एमाले नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने कसरतमा लागेको छ । वैद्य पक्षलाई चिड्याएर केही समय भए पनि काँध थाप्ने सोच अभिव्यक्त गरेका अध्यक्ष दाहालको विश्वासमा लागेका भट्टराईलाई प्रधानमन्त्री बन्न लालायित भएको भनी कुरा काट्ने प्रशस्त ठाउँ वैद्य समूहले पाएको छ ।  

 

 
दुइ दशकसम्म पार्टीको एकलौटी नेतृत्व गरेका अध्यक्ष दाहालको पछिल्लो कार्यशैलीले एनेकपा माओवादीका नेता तथा कार्यकर्ताहरु चिढिँदै गएका छन् । अध्यक्ष दाहाललाई आर्थिक हिनामिनादेखि शक्तिको दुरुपयोग गरेको पार्टी हेडक्वार्टरलाई व्यक्ति केन्द्रित बनाएको संसदीय राजनीतिको लोभमा फसेकोजस्ता थुप्रै आरोप र लाञ्छना लागेका छन् । तर ती आरोपहरु मान्ने पक्षमा अध्यक्ष दाहाल देखिँदैनन् । यसरी आन्तरिक रुपमै तीन शीर्ष नेताबीच चर्किएको खट्पट र सतहमै छताछुल्ल भएको विवाद र अन्तरकलहले सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी अब जुट्नेभन्दा पनि फुट्नेतिर गएको हो कि भन्ने शंका गर्न सबैलाई बल पुर्‍याएको छ ।  
 


Posted on: 2011-Jun-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar