मानव जीवनमा सत्संगको महत्व
15 - Oct-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
यो दुर्लभ मानव तन ठूलो भाग्यले प्राप्त भएको हो तर मनुष्य तन प्राप्त गरेर जसले परमात्माको सनातन नाम, पावन नामको सुमिरण नगरेर गुणवाचक नामको वाणीबाट उच्चारण गर्दछ, त्यो मानव आत्म हत्यारा सरह नै हो । जुन मानवले वाणीबाट उच्चारण नहुने जो स्वतः जपायमान छ । जसको लागि गरुणपुराणमा भगवान् विष्णुले गरुडलाई र शिव पुराणमा भगवान् शंकरले माता पार्वतीलाई सत्संग सुनाउँदै सम्झाएको छ – अजपा नाम गायत्री योगीनां मोक्षदा सदा । अस्याः सकंल्पमात्रेण सर्वपापैः प्रमुच्यते ।। मानवले सच्चानामको ज्ञान प्राप्त गरेन भने उसको खानु, पिउनु, खेल्नु, हाँस्नु र मनोरञ्जन गर्नु त्यस्तै निरर्थक हो जसरी मृतक व्यक्तिलाई विविध प्रकारको श्रृंगारले सजाउँनु । सत्संगको महिमा अपार छ । सत्संगको शाब्दिक अर्थ हो सत् ं संग . सत्संग अथार्त सत्यको संगत गर्नु नै सत्संग हो । सत्य एक मात्र परमात्मा हुनुहुन्छ । उस सत्य स्वरुप परमात्मा संग तदात्म्यम् हुनु सत्संग हो । भागवत महापुराणमा कथा आउँदछ कि सुकदेव मुनी राजा परिक्षितलाई जब सप्तदिवसिय सत्संग कथा सुनाउन आउनु भयो त्यसै समयमा स्वर्गलोकबाट देवगण अमृत कलश लिएर आए र भन्नुभयो कि हजुर त्यो अमृत कलश परिक्षितलाई दिएर त्यसको बदलामा सत्संग कथामृत हामीहरुलाई दिनुहोस् । सुकदेवमुनीले देवताहरुलाई सत्संग कथाको अनाधिकारी सम्झेर उनिहरुको उपहास गर्दै भन्नुभयो कहाँ काँच र कहाँ बहुमुल्य मणी । कहाँ देव सुधा और कहाँ सत्संग कथामृत । यस्तो विचार गरेर शुकदेव मुनीले देवताहरुलाई भक्तिशुन्य सम्झेर उनिहरुलाई सत्संग कथामृत प्रदान गरेनन् । यस प्रकार सत्संग त देवताहरुलाई पनि र्दुलभ छ । परिक्षितले शुकदेवजी संग सोध्नुभयो – भगवन् देवलोकको अमृत पानको के फल हुन्छ ? तथा सत्संग कथामृतको के फल हुन्छ ? शुकदेवजीले भन्नुभयो – देवलोकको अमृतपान गर्ने देवताहरुको पनि पूण्य क्षिण भएपछि पुनः मृत्युलोकमा आउनु पर्दछ, तर सत्संग कथामृत पान गर्नाले मृत्युमा विजय प्राप्त हुन्छ । राजा परिक्षितले शुकदेवमुनीको चरणमा प्रणाम गरेर आभार प्रकट गर्दै भन्नुभयो जसले देवलोकको अमृतपान गरेर पनि देवताहरुको पुण्य क्षिण हुन्छ र उनिहरुलाई पनि मृत्युलोकमा आएर आवागमनको चक्रमा फसेर बारम्बार जन्मिनु र मर्नु पर्दछ, त्यस्तो देवलोकको अमृत कलश लिएर मैले के गर्ने, हजुर कृपा गरेर मलाई सत्संग कथामृत नै प्रदान गर्नुहोस । साँच्चै नै सत्संग कथामृतको पान गरेर अमरताको प्राप्ति हुन्छ, मुक्तिको प्राप्ति हुनछ । आद्य गुरु शंकराचार्य भन्नुहुन्छ सत्संग गत्वे निःसंगत्वं निः संगत्वे निर्मोहत्वं । निर्मोहत्वे निश्चलतत्वं निश्चलतत्वे जीवनमुक्ति ।। सत्संगले आशक्तिको नाश हुन्छ । मोह, ममताको समाप्ती हुन्छ र तव नै निश्चल तत्व परमात्मामा दृढ निष्ठा उत्पन्न हुन्छ । अर्थात सत्संगले नै परमात्माको प्राप्ति तथा जीवन मुक्ति मिल्दछ । सन्तहरुले भनेका छन् – गंगा पापं शशी तापं दैन्यं कल्पतरुहरित् । पापं तापं च दैन्यं सद्य साधु समागमः ।। गंगा पापको हरण गर्दछिन् , चन्द्रमा तापको हरण गर्दछ तथा कल्प तरु दरिद्रताको हरण गर्दछ । तर सत्संग पाप, ताप तथा दरिद्रता तिनैको तत्काल समन गर्दछ । अनादीकाल देखि सास्त्रहरुमा सत्संगको ठूलो महिमा गाएको छ । भक्तिमार्गका पथिकको लागि सत्संग प्रथम सोपान हो । सत्य त यो हो की सत्संग नै भक्ति एवं अध्यात्मको आधारशिला हो । सत्संग विना परमात्माको प्राप्ति अथवा आध्यात्मिकताको उन्नती असंभव हो । त्यसैले भागवत महा पुराणमा भनेको छ । तुलायाम लवेनापि न स्वर्गं नापुनर्भवम् । भगवत्संगिसंगस्य मत्र्यानां किमुताशिषः ।। (श्रीमद्भागवत् ामहापुराण ४।३०।३४, १।१८।१३) क्षणभरको सत्संगको तुलना स्वर्गको त के कुरा पुनर्जन्मको नाश गर्ने मुक्तिको साथमा पनि गर्न सकिदैन । फेरी मृत्युलोकको राज्यको सम्पत्तिको के कुरा । रामचरित्रमानसमा भनिएको छ तात् स्वर्ग अपवर्ग सुख धरिअ तुला एक अंग । तूल न ताहि सकल मिलि जो सुख लव सतसंग ।। तराजुको एक पलडामा स्वर्ग र अपवर्गको सुखलाई तथा अर्को पलाडामा क्षण मात्रको सत्संग सुखलाई राखेर तौल गरियो भने समस्त सुख मिलेर पनि क्षण मात्रको सत्संग सुखको बराबरी गर्न सकिदैन । साँच्ची नै सत्संगको महिमा अपरम्पार छ । सत्संगको प्राप्ति भएमा मात्र मनुष्य जिवन पाएको सपफल हुन सक्दछ । (रा.च.मा.सु.का.) सत्संग प्रभु प्राप्तिको सरल तथा सुगम साधन हो । सत्संग विना साधक अध्यात्मको पथमा अग्रसर हुन सक्दैन । सत्संग यति सरल र सुगम साधन हो कि अयन्त साधारण व्यक्तिले पनि यसको सेवन गर्न सक्दछ किनकी सत्संगले सहजमा नै मानवलाई परमगति प्राप्त हुन सक्दछ । सत्संगको प्राप्ति ठूलो भाग्यले हुन्छ । भगवान् कृष्ण भन्नुहुन्छ – न रोधयति मां योगो न सांख्यं धर्म एव च । न स्वाध्यायस्तपस्त्यागो नेष्टापुर्तं न दक्षिणा ।। व्रतानि यज्ञश्छन्दांसि तीर्थानि नियमा यमाः । यथावरुन्धे सत्संगः सर्वसंगापहो हि माम् ।। समस्त आशक्तिको निवारण गर्ने सत्संगबाट म जसरी बसिभुत हुन्छु त्यस्तो योग, ज्ञान, धर्म, वेदाध्यन, तप, त्याग, ईष्टपुजा, दक्षिणा ब्रत, वेद तिर्थ यम तथा नियमबाट पनि म प्राप्त हुन सक्दैन । सत्संगलाई सुन्ने र सुनाउने दुवैको कल्याण हुन्छ । भगवान्को किर्ति प्रसंग सुनाउनमा जुन अतुल आनन्दको अनुभूति हुन्छ, सुन्नेवालालाई पनि त्यस्तै अलौकिक आनन्दको प्राप्ति हुन्छ । अर्थात त्यहाँँको स्थान तथा वातावरण नै अलौकिक आनन्दको समुन्द्र व शान्तिको सुखद् सरोवर बन्दछ । सत्संगको अत्यन्तै ठूलो प्रभाव पर्दछ । चन्दनको शिलताको प्रभावले जहरिलो सर्पलाई पनि शितलताको अनूभूति हुन्छ । ज्ञानी सन्तको संगतीले मूर्ख पनि उस्तै ज्ञानी बन्दछ । जस्तै फुलको सुगन्ँधले तिलको तेलमा पनि सुगन्ध प्रवाहित हुन्छ । पारसको स्पर्शले फलाम पनि सुन बन्दछ । नमि पाएर सुकेको काठमा पनि अंकुर निक्लिन्छ यो सबै संगतीको असर हो । यस्तै प्रकारले ब्रम्हज्ञानी सन्तको संगतीले आत्मज्ञानको प्राप्ति हुन्छ । र मानवका सम्पूर्ण त्रयताप मिटेर परमशान्ति तथा आनन्दलाई प्राप्त गर्दछ र मानव जीवन सफल हुन्छ । पद्मपुराणमा भनिएको छ – भाग्योदयेन बहुजन्मसमर्जितेन सत्संगमेव लभते पुरुषो यदा वै । आज्ञानहेतुकृतमोहमदान्धकारनाशं विद्याय हितदोदयते विवेकः ।। (पद्म.पु. ६।१९०।७६) धेरै जन्मको पुण्य पुञ्जले भाग्य उदय भएमा मात्र मानवलाई सत्संगको प्राप्ति हुन्छ । तब नै मानवमा रहेका अज्ञानकृत मोह तथा मदरुपी अन्धकारको नाश भएर विवेकको उदय हुन्छ । पुण्यहिन मानवलाई सत्संग अत्यन्त दुर्लभ हुन्छ, सत्संग श्रोता तथा वक्ता दुवैको लागि अत्यन्तै हितकर हुन्छ । सासारीक बन्धनहरुबाट पूर्ण मुक्ति पाउनको लागि भगवान्को भक्ति नै सर्वोत्कृष्ट, सरल र सुगम मार्ग हो तर परमात्माको भक्ति ब्रम्हज्ञानी सन्तको पूनित संगती विना पाउन सकिदैन । अत्यन्तै दुर्लभ छ । ज्ञानी सन्तले न त भौतिक सम्पत्ति दिनुहुन्छ । न लौकिक सम्पत्तिका याचक हुन्छन् तर जुन भक्तले भाव रुपी धन सन्तको चरणकमलमा पूर्ण निष्ठा, विश्वास तथा समर्पणको साथ अर्पण गर्दछन् उनिहरुले नै सन्तको पावन सानिध्य प्राप्त गरेर परमानन्दको साथमा आफ्नो लौकिक जगत तथा पारलौकिक जगतलाई सुगन्धित बनाई मानव जीवन सफल बनाउँछन् । जो मनुष्य सन्तहरुको गुरुतर गरिमाबाट सुपरिचित छन् उनिहरुले यहि नै सतत् कामना गर्दछन् कि हे प्रभु मलाई निरन्तर आत्मज्ञानी सन्तको संगती बनिहोस ताकि म उनिहरुबाट सत्संग सुधाको पान गरी आफ्नो जीवनको उदेश्य पूर्ण गर्न सकूँ । भक्तहरुले भगवान् संग यो नै प्रार्थना गरेको छ कि निशदिन सन्तहरुको दर्शन भैरहोस् जसको दर्शन मात्रले भक्तको आत्म कल्याण हुनछ तथा भक्त परमात्माको नजिक पुग्दछन् तर त्यस्ता ब्रम्हचारी ऋषिहरुको सानिध्य त कोहि–कोहि विरलै भक्तले मात्र प्राप्त गर्दछन् । महर्षि चाणक्यले भनेका छन् – शैले शैले न माणिक्यं मौत्तिकं न गजे गजे । साधवों न हि सर्वत्र चन्दनं न वने वने ।। (चा.नि. २।९) जस्तै सबै पर्वतहरुमा मणी–माणिक्य हुदैनन् न सबै हात्तिहरुमा गजमुक्ता नै हुन्छ, न सबै जंगलहरुमा चन्दनको बृक्ष नै हुन्छन् त्यस्तै प्रकार यस संसारमा हरेक स्थानमा हरेक समयमा दुर्लभ ब्रम्हज्ञानी साधु हुदैनन् । ब्रम्हज्ञानी सन्तहरुको सानिध्य प्राप्त गर्नको अर्थ हो सम्पूर्ण रिद्घि सिद्घलाई प्राप्त गरी मुक्तिको मार्गमा हिड्नु तथा आत्मालाई सद्गति दिनु पूर्णता प्राप्त गर्नु । येषां न विद्या न तपो न दानं न ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्र्यलोके भुवि भारभूता मनुष्यरुपेण मृगाश्चरन्ति ।। जसको पासमा न विद्या छ, न तप छ, न दान छ, न ज्ञान छ, न शिल छ, न गुण छ, त्यस्ता व्यक्ति यस लोकमा पृथ्विका भार भएर मनुष्य रुपमा पशुजस्तै विचरण गरिरहनछन् । (चा.नी. १०।७) दुष्टलाई पनि सत्संगतीले साधु बनाई दिन्छ तर साधुहरुमा दुष्टको संगतीले दुष्टता आउँदैन जस्तै फुलको सुगन्धले माटी पनि सुगन्धित भई हाल्दछ । तर फुलले माटोको सुगन्धलाई धारण गर्दैन । यस्तै प्रकार सच्चा सन्त असन्तको संगतीले प्रभावित हुदैन । महर्षि चाणक्यले भनेका छन् – साधूनां दर्शनं पुण्यं तिर्थभूता हि साधवः । कालेन फलते तिर्थं सद्यः साधुसमागमः ।। (चा.नि. १२।७) सन्त महापुरुषहरुको दर्शन अत्यन्त पूण्यकारक हुन्छ । सन्तजन स्वयं नै तिर्थ स्वरुप हुन्छन् । तिर्थको फल त पछि भविष्यमा प्राप्त हुन्छ तर आत्मज्ञानी सन्तको संगतीको फल तत्काल नै प्राप्त हुन्छ । भगवान् राम भन्नुहुन्छ – बडे भाग पाईब सतसंगा । बिनहिं प्रयास होहिं भव भंगा। सन्त संग अपवर्ग कर कामी भव कर पंथ । कहहीं सन्त कवि कोबिद श्रुति पुराण सदग्रथं ।। (रा.च.मा.उ.का.) सत्संग ठूलो भाग्यले प्राप्त हुन्छ । सत्संगद्घारा विना प्रयास नै संसारका दैविक, दैहिक तथा भौतिक ताप तत्काल समाप्त भई हाल्छन् । सन्तहरुको संगती मोक्ष तथा असन्तहरुको संगती बन्धन प्रदान गर्ने हुन्छ । यस्तो सन्त, ज्ञानी, विवेकी तथा वेद–पुराण तथा सद्ग्रन्थहरुको भनाई छ । ब्रम्हज्ञानी ऋषिहरुको भनाई छ– सुत, दारा और लक्ष्मी पापी घर भि होय । सन्त समागम हरि कथा तुलसी दुर्लभ दोय ।। पुत्र, पन्ती, धन, सम्पत्ति पापीहरुको घरमा पनि हुन्छन् तर सन्तहरुको समागम तथा हरि कथा(सत्संग) दुवै संसारमा दुर्लभ हुन्छन् मात्र भगवान्को कृपाले नै प्राप्त हुन्छन् । सत्संग विना जीवनमा अध्यात्म तत्वको प्राप्ति, भक्ति, मुक्ति वा सद्गति सम्भव छैन । त्यसैले आत्मज्ञानी सन्तहरुको संगती गरेर उहाँहरुबाट सत्संग रुपी अमरवाणी श्रवण गर्दै ज्योतिरुप आत्माको साक्षात्कार गरी ध्यान साधना गर्दैै मानव जीवन सफल तुल्याउनु हुन सादर निवेदन गरिन्छ । मानव धर्म सम्पर्क ः ०१४४८७७११
Posted on: 2015-Oct-15
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story