25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लाईफ इज सर्ट डन्ट् DIVORCE

4 - Mar-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन के.सी.
काठमाडौं फागुन । 
पैसा सबैथोक होईन । पैसा जीवनलाई सहज बनाउनको लागि चहिने एउटा आधार मात्र हो । यदि पैसाले सबै थोक किन्ने सकिने भए सबै भन्दा पहिला खुसी नै किनिन्थो होला । पैसा संग खुसी साट्न कै लागि अहिले लाखौं नेपालीहरु खाडी मुलुकको चर्को घाममा कडा परिश्रम गरिहेकाछन । 
परिवारको लागि खुसी किन्नको लागि बिरानो देश, बिरानो शहर अनि बिरानो मान्छेहरुको भिडमा काम गरिहेका ति नेपालीहरुको मन कति दुख्दो होला आफ्नो परिवारको खुसी अर्केले खोसी दिंदा । अहिले नेपालमा यस्ता समस्याहरु बिकरालरुपमा बढ्दै गएको छ । सिंगो मुलुकलाई चलायमान बनाउने प्रमुख आधार बैदेशिक रोजगारीबाट प्राप्त आय रेमिटेन्स भएपनि यसले सामाजिक क्षेत्रमा धेरै बिचलनहरु ल्याएको छ । धेरै सम्वन्धहरुमा दरार ल्याएको छ । 
पैसाले घर र परिवारको सुख किन्न उद्ेश्यले खाडी मुलुकको चर्को घाममा श्रम गरिरहंदा सिंगो परिवार र घर नै अर्को व्यक्तिले उडाईदिने गरेकाछन । बैदेशिक रोजगारमा गएका धेरैजसो पुरुषका श्रीमतीहरु श्रीमानले पठाएको पैसा समेत लिएर अर्को पुरुषसंग भाग्ने गरेकाछन भने बैदेशिक रोजगारीमा गएका महिलाहरु आर्थिकरुपमा बलियो भएपनि उनीहरुले बिदेशमा बस्दा गर्दा गर्ने हर्कतले उनीहरु नेपालमा समाजमा स्थापीत हुन सक्ने अवस्था छैन । अहिले सिंगो बिश्व नै बिभिन्न किसिमको सामाजिक सञ्जालमा जोडिएको छ । बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिँड भने झै सामाजिक सञ्जालको सहीरुपमा प्रयोग गर्न नसक्दा सामाजिक बिचलनका घटनाहरु बढ्दै आएकाछन ।   सामाजिक सञ्जाल अन्र्तगत फेसबुक, ट्वीटर, भाईवर, ईमो लगायतका बिभिन्न माध्यमहरुलाई आम नागरिक सम्र्पकलाई सहज बनाएपनि यसको सही प्रयोग हुन नसक्दा पारिवारिक बिचलनमा घटनाहरु बढ्दै गएकाछन । वास्तवमा रेमिटेन्सले अर्थतन्त्रलाई सहज बनाए पनि यसले सिंगो परिवालाई सुख र समृद्धि दिन नसकेको देखिएको छ । पारिवारिक बिचलनका घटनाहरु बढ्दै गएकाछन । खासगरी नेपालको जुन जुन जिल्ला, जुन जुन क्षेत्र अर्थात भनौ जुन जुन घरबाट बैदेशिक रोजगारीमा गएकाछन, ति जिल्ला, ति क्षेत्र अथवा ति घरहरुमा सम्वन्ध बिच्छेदका घटनाहरु बढी रहेकाछन । ति क्षेत्रहरुमा भाउजु र देवरबिचमा सम्वन्ध, सासु र बुहारीबिचमा सम्वन्ध, बैदेशिक रोजगारीको गएको व्यक्ति र साथीसंगीबिचमा सम्वन्ध लगायतका बिषयहलरुले सामाजिक बिचलन बढेकाछन । सम्वन्ध बिच्छेदका घटनाहरु बढेकाछन ।     पहिला पहिला सम्वन्ध बिच्छेदको लागि महिलाहरुले मात्र आवेदन दिन सक्ने अथाव भनौ महिलाहरुले दिएको आवेदनको आधारमा मात्र सम्वन्ध बिच्छेद हुने गरेको थियो । तर झण्डै दुई बर्ष अघि आएको नयाँ मुुलुकी ऐन अनुसार सम्वन्धबिच्देको लागि पुरुषले पनि आवेदन दिन सक्ने व्यवस्था कायम गरियो । सो पश्चात भने बैदेशिक रोजगारीमा बढी जाने जिल्लाहरुकोरुपमा चिनिदै आएको धरान, दाङ, पाल्पा, सिन्धुपाल्चोक, रामेछाप, बाग्लुुड लगायतका क्षेत्रहरुमा सम्वन्ध बिच्छेदका घटनाहरु बढेकाछन । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि सम्वन्ध बिच्छेदका लागि आवेदन दिने पुरुषहरुको संख्या निकै नै बढेको छ ।    किन आउँदै छ सम्वन्धहरुमा समस्या ?  भक्तपुरकी सरिता श्रेष्ठ (नाम परिवर्तन) १८ वर्षको उमेरमा बिहे भएको थियो । मागेर नै बिवाह गरेको भएपनि पछि उनको परिवारमा समस्या आयो । केटाले पारिवारिक झमेला देखाउँदै अर्को बिवाह गर्यो । सरिताले सम्वन्ध त्यो केटासंग सम्वन्ध बिच्छेद गरिन । अहिले उनी कक्षा १२ मा पढ्दैछिन । पढाई सकेर दोस्रो बिवाह गर्ने योजना उनको रहेको छ ।    काठमाडौको १९ वर्षीया दिपा खड्का (नाम परिवर्तन) को अवस्था पनि भक्तपुरकी सरिताको भन्दा कम छैन । झण्डै एक बर्षअघि उनले आफुले मन पराएको केटासंग भागेर बिवाह गरिन । उनकै शव्दमा उनको बिवाह परिवारको इच्छाबिपरित भएको थियो । उनको बिवाहलाई परिवारले स्वीकारेन । माईतीपक्षले मान्यता नदिएपछि उनी सम्वन्ध बिच्छेद गर्न बाध्य भईन । हाल उनी सम्वन्ध बिच्छेद गरेर माईती नै बसेर आफ्नो अपुरो अध्ययन पुरा गरी रहेकीछन ।    पाल्पाकी १६ वर्षीया बिना राई (नाम परिवर्तन) पनि कक्षा नौ मा पढ्दै गर्दा गाउँकै केटासँग भागेर बिहा गरिन । पछि उनको बिवाहले पनि सामाजिक एवं पारिवारिक मान्यता पाएन । उनि पनि अहिले सम्वन्ध बिच्छेद गरेर माईती घरमा नै बस्दै आएकीछन । काठमाडौका २६ वर्षीय बिमल श्रेष्ठ (नाम परिवर्तन) पनि धरानकी युवती संग बिवाह गरे । उनीहरुको बिवाह दर्ता पनि भयो । तर युवतीले सबिनसंग बिहे गर्नुको प्रमुख कारण सम्पती रहेछ । सम्पत्तिकै लागि लफडा गरेर ति युवतीले सबिनसंग सम्वन्ध बिच्छेद गरिन । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन । ईशासँग रविले सम्वन्ध बिच्छेद गरेका हुन ।    यि घटनाहरु केही उदाहरण मात्र हुुन । पैसा र धनसम्पतीको लागि सम्वन्धमा खेलावाड हुने गरेको एउटा दृष्टान्त मात्र हुने । देशको ७७ वटै जिल्लाका बिभिन्न घटनाहरु केलाउने हो भने यस्ता धेरै उदाहरणहरु भेटिन सक्छ, सामाजिक बिचलनको, सम्वन्धमा आएका दरारहरुको । नेपाली समाजमा सम्वन्ध बिच्छेद अर्थात भनौ पारिवारिक बिचलनका यस्ता घटनाहरु बढ्दै गएकाछन । काठमाडौं जिल्ला अदालतको पछिल्लो तथ्यांक मात्र हेर्दा सबैभन्दा बढी मुद्धा सम्बन्ध विच्छेदको रहेको देखिन्छ । काठमाडौ जिल्ला अदालतमा मात्र ‘सम्बन्ध विच्छेद सम्बन्धी दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेको छन ।  यसरी सम्वन्ध बिच्छेद गर्नेमा १९ देखि २५ वर्ष उमेर समूहका केटाकेटीहरु हुने गरेकाछन । पछिल्ला घटनाक्रमहरु केलाउँदा यस्तो संख्या अझै बढ्दै जाने देखिन्छ ।    यसरी सम्वन्ध बिच्छेद गर्नेहरुमा बैदेशिक रोजगारी वा शिक्षाको लागि पहिला बिवाह दर्ता गर्ने र पछि सम्वन्ध बिच्छेद गर्ने गरेको समेत देखिएको छ । काठमाडौं जिल्लामा मात्र गत वर्ष दुई हजार चार सय भन्दा बढी सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा एक हजार वटा भन्दा बढी मुद्धा दर्ता भएकाछन । यसरी सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गर्नेमा १८ देखि ३० वर्ष उमेर समूहका युवा–युवती देखिने गरेकाछन । अदालत श्रोतका अनुसार यस्ता मुद्दा महिनामा एक सय ५० देखि दुई सय वटासम्म दर्ता हुने गरेकाछन ।   नेपालको स्थानीय स्वायत्त शासन ऐनले २ जनाको बेमेल भए सिधै अदालतमा जान सक्ने व्यवस्था गरेको छ । सम्बन्ध विच्छेदका अन्य कारणहरूमा कुटपिट, खान लगाउन नदिनु, कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी, वैदेशिक रोजगार गएका श्रीमान् वा श्रीमतीबीच बढ्दो अनमेल, महिलाहरू डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु र सम्पत्ति प्राप्तिमा लोभ हुनु रहेका छन । नेपालको हकमा बिवाहको लागि २० वर्ष उमेर तोकिए पनि विवाह सम्बन्ध र शारीरिक आवश्यकताबीचको भिन्नता बुझाउन नसक्दा सम्वन्ध बिच्छेदका घटनाहरु बढेका हुन ।    यस्ताछन कारणहरु, जसले बढाउँदै छ, सम्वन्ध बिच्छेदका घटनाहरु ललितपुरको २४ वर्षीया बर्षा (नाम परिवर्तन) ले विवाह गरेको चार महिनामा नै श्रीमानसँग सम्बन्धविच्छेद गरिन्। उनको मागी बिवाह भएको थियो । उनकै भनाईमा श्रीमानको अप्राकृतिक यौनसम्पर्क, सम्बन्धविच्छेद गर्ने कारणबारे उनले भनेकी भनिन । ‘नीलो चलचित्र हेर्दै दिनहुँ त्यहीअनुरूप म लोग्नेको चाहना पूरा गर्न सक्दिनँ ।  अब त सँगै बस्न सक्ने अवस्थै रहेन ।    माथि उल्लेख गरिएका यि दुई पात्र र घटनाहरु प्रतिनिध घटनाहरु मात्र हुुन । पछिल्लो समय मुुलुकभरी नै दाम्पत्य जीवनमा सम्बन्ध विच्छेदका घटना बढेका छन विगत पाँच वर्षको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने अहिले झन्डै दोब्बर छ । आर्थिक वर्ष ०६३ र ६४ मा देशभर तीन हजार आठ सय १९ सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा आर्थिक वर्ष ०६८ र ०६९ मा पुग्दा सात हजार एक सय ५७ पुगेको छ। यो तथ्याङ्कले वर्षेनी साढे नौ प्रतिशतका दरले सम्बन्ध विच्छेद बढेको देखाउँछ । त्यसो त देशभरको कुल सम्बन्धविच्छेदको सख्या काठमाडौंमा एक चौथाइ छ । काठमाडौंमा आर्थिक वर्ष ०६८ र ६९ मा मात्र एक हजार सात सय ४५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको देखिन्छ । यो तथ्याङ्क देशभरको साढे २४ प्रतिशत हो। काठमाडौंमा सम्बन्ध विच्छेदको दर हरेक वर्ष साढे १० प्रतिशतले वृद्धि हुँदै गएको छ ।   सामाजिक चेतनामा वृद्धिका कारण नेपाली समाजमा सम्बन्ध विच्छेदको सङ्ख्या बढ्दै गएको छ। केही वर्षअघिसम्म सम्बन्ध विच्छेद अर्थात पारपाचुके शब्दसमेत सुन्न नचाहने नेपाली समाजले अहिले सम्बन्ध विच्छेद गर्नुलाई सामान्य ढङ्गले हेर्न थालेको छ । सामाजिक चेतना र स्वतन्त्रताको अनुभूतिका कारण नेपालमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ । नेपालको कानुनअनुसार स्वास्नीले लोग्नेलाई निजको मञ्जुरी बेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बसेको अवस्थामा सम्बन्धविच्छेद गर्न पाउँछ । यस्तै लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक, मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा पनि सम्बन्धविच्छेद गर्न सकिने कानुनी प्रावधान छ । स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा पनि स्वास्नीसित लोग्नेले सम्बन्धविच्छेद गर्न पाउँछ ।    यसैगरी लोग्नेले अर्की स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान, लाउन नदिएमा वा स्वास्नीको खोजखबर नलिई हेरविचार नराखी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बसेको अवस्थामा महिलाले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ  । स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा वा लोग्ने नपुङ्सक हुने भएमा पनि सम्बन्धविच्छेद हुन सक्छ । यसबाहेक दुवै थरीको मञ्जुरी भएमा लोग्ने–स्वास्नीको सम्बन्ध विच्छेद गर्न सकिने प्रावधान कानुनमा छ ।  सम्बन्ध विच्छेदका लागि कानुनमा महिलालाई केही प्राथमिकता दिएको देखिए पनि व्यवहारमा भने पुरुषहरू पहिले सम्बन्धविच्छेदका लागि तयार देखिन्छन ।    सम्बन्धविच्छेद हुनुको कारण विविध भए पनि परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन र नाता–सम्बन्ध कायम भएपछि श्रीमान श्रीमती सँगै नबस्नु यसका प्रमुख कारण बनेका छन । समाजमा शिक्षाको स्तर बढेसँगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर बस्न नसक्ने भएकाले पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको विश्लेषण गरिन्छ । समाजशास्त्री गणेश गुरुङ यो कुरा स्वीकार गर्दैनन उनी महिलाहरूमा आएको चेतना अभिवृद्धिका कारण पुरुषप्रधान समाजमा दबिएर बसेका महिलाले अधिकार खोजेको बताउँछन । केन्द्रीय पञ्जिकरण विभागका अनुसार हरेक वर्ष ५० प्रतिशतका दरले सम्बन्ध विच्छेदका घटना बढिरहेको छ । २०७० साल सम्म वार्षिक ४ सयको हाराहारीमा हुने गरेको सबन्धविच्छेद त्यसयता हरेक वर्ष एक हजार भन्दामाथि पुगेको छ । २०७३ सालमा २ हजार २ सय ८३ सम्वन्ध विच्छेदका घट्ना विभागमा दर्ता भएका थिए । तर पछिल्लो समय देशभर हरेक महिना औसत एक सय ५० जोडीको सम्वन्ध विच्छेद हुने गरेको छ । यी त अदालतबाट सम्बन्ध विच्छेद भएपछि स्थानीय तहमा दर्ता भएका विवरण मात्र हुन ।    केही बर्षअघिसम्म दैनिक आठ देखि १० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौं जिल्ला अदालतमा गत वर्ष दुई हजार ६ सय ३२ मुद्दा दर्ता भएका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ,  यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै  वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन । पछिल्लो समय काठमाडौ जिल्ला अदालतमा नव विवाहित दम्पत्तिको सम्बन्ध विच्छेदका निवेदन धेरै छन । विशेष गरि कागजी विवाह गर्ने र लगत्तै  सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने प्रवृत्ति बढेको छ । कागजी विवाह अन्तत अदालत मै पुगेर टुङ्गिन्छ, टुंगिरहेको छ । विवाहको गंभीरता र सामाजिक उत्तरदायित्वलाई नबुझी स्वार्थबस कागजी बिबाह गर्दा सम्वन्धहरु चीरस्थाही हुन नसकेको देखिन्छ ।    नेपालमा सम्वन्ध विच्छेदको कारक बन्दै बैदेशिक रोजगार नेपालमा प्रत्येक बर्ष सम्वन्ध बिच्छेदका घटनाहरु बढ्दै गएकाछन । बैदेशिक रोजगारीलाई आर्थिक समृद्धिसंग जोडेर हेर्ने गरिएपनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुको प्रमुुख कारण बैदेशिक रोजगारी नै देखिएको छ । जसको प्रत्यक्ष सम्वन्ध रेमिटेन्स संग रहेको छ ।  आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन । श्रीमतीले घरव्यवहार चलाउन नसकेको, आफु बैदेशिक रोजगारीमा रहदा धन सम्पत्ति हिनामिना गरेको, परपुरुष सग सम्बन्ध जोडेको जस्ता आरोप सहित सम्वन्ध बिच्छेदका मुद्धा लिएर अदालत जानेहरुको संख्या धेरै रहेको छ । बाबुआमाको सम्बन्ध विच्छेदका कारण सन्तानले एकातिर अभिभावकहरुको मेलमिलापपूर्ण सरल परम्परा गुमाउन पुगेकाछन । अर्कोतिर पतिपत्नीले रुखोसुखो खाएर भएपनि शान्तिपूर्वक संगै बाँच्ने संगै मर्ने भन्ने पुरानो भावनात्मक मिलनको संस्कृति पनि समाप्त हुँदै गएको अदालती अभिलेखले देखाएको अधिबक्ता टंककुमार श्रेष्ठ वताउँछन ।   वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक १ हजार ७ सयदेखि २ हजारसम्म नेपाली युवा विदेशिने गरेका छन् । २०६८ सालको जनगणनाअनुसार नेपाली युवाको संख्या ४० लाख छ । तीमध्ये अधिकांश युवा रोजगारीका लागि बाहिरीएका छन नेपालभित्र रोजगारीको उचित वातावरण हुन नसक्दा र क्षमताअनुसारको उपर्युक्त जागिर नभेटिँदा युवाहरू विदेश पलायन हुने दर बढ्दै गएको हो ।   नेपालमा विदेश पलायनको दर नरोकिँदा कतिपयको परिवारिक सम्बन्धमा दरार आएको छ । सामाजिक सञ्जाल, आर्थिक लगायतका विषयमा असमझदारी बढी सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको छ । गैरआवासीय नेपाली महासंघका अनुसार झण्डै ७० लाख नेपालीहरू रोजगारी, शिक्षा आर्जनलगायत अन्य सिलसिलामा विदेशमा कार्यरत छन । पछिल्लो समयमा नेपाली श्रम बजारमा कामको तीव्र अभाव देखिँदा विदेशिनेको संख्या बढेको वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ । नेपालमा पर्याप्त रोजगारीको अवसर नभएको भन्दै दैनिकरूपमा १ हजार ५ सयभन्दा बढी विदेश जाने गरेको विभागले जनाएको छ । रोजगार बाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश गएकाहरूको पनि अभिलेख गर्न सके यो संख्या अझै बढ्ने देखिन्छ ।    विप्रेषण अर्थात भनौ बैदेशिक रोजगारीबाट प्राप्त आय नै नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार हो । वाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई मुुलुकको शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको छ । तर यो आधार र भुमिकाभित्र धेरै नै सामाजिक बिचलन र सम्वन्धमा दरार उत्पन्न भएका कथाहरुछन यसको चर्चा हामी आवरण मार्फत गर्छों ।    पछिल्ला केही बर्षहरुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै आएको छ । श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या आर्थिक वर्ष २०७०÷७१ मा अधिकतम पाँच लाख २७ हजार आठ सय १४ रहेकोमा आर्थिक वर्ष २०७५÷७६ मा यो संख्या दुुई लाख ४३ हजार आठ सय ६८ मा सिमित हुन पुगेको छ । चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनाको तथ्यांक अनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५ दसमलव तीन प्रतिशत खाडी मुलुकतर्फ गएका छन् । उक्त अवधिमा खाडी मुलुकहरुबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५० दसमलव तीन प्रतिशत रहेको छ ।    नेपालको वाह्य क्षेत्र सन्तुलनको प्रमुख आधारको रुपमा विप्रेषण आप्रवाह रहँदै आएको छ । विगत दश वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसंगको औसत अनुपात २५ प्रतिशत रहेको छ । नेपालको गरिबी न्यूनीकरण लगायत सामाजिक एवम् मानव विकास सूचकांकमा भएको उल्लेख्य सुधारमा समेत वैदेशिक रोजगारीमा गएकाहरुको आर्जनको महत्वपूर्ण योगदान रहेको छ । वैदेशिक रोजगारीले समष्टिगत आर्थिक स्थायित्व, सामाजिक–आर्थिक सुधार एवम् मानव पूँजी निर्माणमा सहयोग पुर्याएको छ । आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनाको तथ्यांक अनुसार कुल रोजगारीमा जाने कामदार मध्ये ७५ दसमलव तीन प्रतिशत खाडी मुलुकतर्फ गएका छन्भने खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कुल विप्रेषणको करिब ५० दसमलव तीन प्रतिशत रहेको छ ।   विप्रेषण नेपाल पठाउँदा लाग्ने औसत लागत विश्वको औसत भन्दा कम देखिएता पनि भारत र बंगलादेशको भन्दा बढी रहेको छ । विप्रेषणलाई राष्ट्रिय पुँजी निर्माणको क्षेत्रमा उपयोग गर्दै विप्रेषण आप्रवाहमा आउन सक्ने कमीले अर्थतन्त्रमा पर्ने प्रभावको नियमित आँकलन र वाह्य क्षेत्र सन्तुलनको बैकल्पिक आधारको विस्तार उत्तिकै महत्वपूर्ण रहेको छ ।    सन १९८० को दशकदेखि शुरु भएको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक एकीकरण सँगसँगै विश्वव्यापी रुपमा अन्तराष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पुँजी प्रवाहमा वृद्धि भएको पाइन्छ । नेपालबाट पनि विगत दुई दशकयता तेस्रो मुलुक बिशेषगरी मलेशियार खाडी मुलुकतर्फ वैदेशिक रोजगारका लागि जानेको संख्यार वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै गएको छ ।       आखिर किन बढ्दै छ, बैदेशिक रोजगारीमा जाने युवा जमात ? नेपालको वैदेशिक रोजगारीको तथ्यांक हेर्दा आर्थिक वर्ष २०५०÷५१ मा तीन हजार छ सय पाँच नेपालीलाई वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकोमा यो संख्या क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७०÷७१ मा अधिकतम पाँच लाख २७ हजार आठ सय १४ पुगेको थियो ।    पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५÷७६ मा दुई लाख ४३ हजार आठ सय ६८ जनाले यस्तो स्वीकृति लिएको देखिन्छ । हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि एक सय १० देशहरु खुल्ला गरेको छ भने आठ देशहरु अर्थात कतार, यू.ए.ई., जापान,दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया सँग द्विपक्षीय श्रम सर्वेक्षणमा आधारित श्रम सम्झौता गरिएको छ । व्यक्तिगत श्रम स्वीकृतिमा एक सय ७२ मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजगार खुला गरिएको मुलुकमध्ये दक्षिण कोरियामा सरकारी सम्झौता अर्थात जिटुजी अनुरुप कामदार पठाइएको पाइन्छ । जापानसँग पनि रोजगारीको लागि जिटुजी मार्फत कामदार पठाउने श्रम सम्झौता गरिसकिएको छ ।    श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीको लागि नेपाली कामदारहरुको प्रमुख गन्तब्य खाडी मुलुकहरु नै रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को चारमहिनाको तथ्यांकको आधारमा कुल रोजगारीमा जाने कामदारमध्ये ७५ दसमलव तीन प्रतिशत खाडी मुलुकमा गएको देखिन्छ । विगतमा मलेशियामा समेत उल्लेख्य संख्यामा कामदारहरु रोजगारका लागि जाने गरेकोमा वैदेशिक रोजगारीमा लाग्ने शुल्क लगायतका कारण केहि समय मलेशियामा वैदेशिक रोजगारी बन्द भएकोले कामदारहरुको संख्यामा कमी आएकोे देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ को चार महिनाको तथ्यांकको आधारमा कुल कामदारको १२ दसमलव पाँच प्रतिशत मात्र मलेशियामा रोजगारीको लागि गएका छन् ।    आर्थिक वर्ष २०७६÷७७ को पहिलो चारमहिनाको तथ्यांक अनुसार खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कुल विप्रेषणको ५० दसमलव तीन प्रतिशत रहेको छ । यी मुलुकहरुमध्ये सबभन्दा वढी विप्रेषण कतारबाट आएको देखिन्छ । चालु आवको पछिल्लो चार महिनामा कतारबाट मात्र कुुल रेमिटेन्स रकमको १७ दसमलव सात प्रतिसत रेमिटेन्स भित्रिएको छ । सो पश्चात दोश्रो स्थानमा यू.ए.ई. रहेको छ । युएईबाट १३ दसमलव चार प्रतिसत रेमिटेन्स भित्रिएको छ । साउदी अरेबिया तथा मलेशियाबाट प्राप्त विप्रेषण कुल विप्रेषणको क्रमशः १२ दसमलव पाँच प्रतिशत र नौ दसमलव सात प्रतिशत रहेको छ ।   बहराइन तथा कुवेत जस्ता खाडी मुलुकहरुबाटप्राप्त हुने विप्रेषण रकम कुल विप्रेषणको चार प्रतिशत भन्दा कम रहेको पाइएको छ । प्रमुख श्रम गन्तव्य मलेशियामा कामदार जाने क्रम बन्द भएका कारण आर्थिक वर्ष २०७५÷७६ मामलेशियाबाट प्राप्त विप्रषेण पनि घटेको छ ।    अर्थतन्त्रमा यस्तो छ बैदेशिक रोजगारीबाट प्राप्त आयको प्रभाव आर्थिक वर्ष २०५७÷५८ माविप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात १० दसमलव सात प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५÷७६ मा २५ दसमलव चार प्रतिशत पुगेको छ । नेपाललाई अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्र राष्ट्रहरुले प्रदान गर्ने विकास अनुदान तथा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकोले हालको अवस्थामा विप्रेषण नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधारको रुपमा रहेको छ ।    विप्रेषण आप्रवाहको वृद्धिदरमा संकुचन आउदा अर्थतन्त्रको धेरै क्षेत्रमा नकारात्मक असर पर्ने देखिन्छ । विप्रेषणले परिवारको आम्दानी वृद्धि गरी गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०६७÷६८ अनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले विप्रेषण प्राप्त गर्ने गरेका छन् । आर्थिक वर्ष २०६०÷६१ मा गरिबीको रेखामुिन रहेको जनसङ्ख्या ३० दसमलव नौ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा १८ दसमलव सात प्रतिशत पुग्नुमा विप्रेषणको महत्वपूर्ण योगदान रहेको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म निरपेक्ष गरिबीलाई एकल अंकमा झार्न विप्रेषण आप्रवाहले मद्दत पु¥याउने विश्वास गर्न सकिन्छ ।    नेपाल जीवनस्तर सर्वेक्षण २०६७÷६८ अनुसार विप्रेषण प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको छ भने प्राप्त विप्रेषण रकममध्ये ७८ दसमलव नौ प्रतिशत रकम घरायसी उपभोगमा, सात दसमलव एक प्रतिशत ऋण तिर्न, तीन दसमलव पाँच प्रतिशत शिक्षामा र चार दसमलव पाँच प्रतिशत घरायसी सम्पत्तिमा खर्च भई विप्रेषण रकमको शुन्य दसमालव छ प्रतिशत मात्र बचत गर्ने गरेको देखिएको छ ।    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७१÷७२ मा १६ जिल्लाका जम्मा तीन सय २० घरपरिवारमा गरेको स्थलगत सर्वेक्षण र सोका आधारमा तयार गरिएको अध्ययन“ विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति” अनुसार विप्रेषण रकमको २५ दसमलव तीन प्रतिशत अंश ऋण तिर्नमा, २३ दसमलव नौ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा, नौ दसमलव सात प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, तीन दसमलव पाँच प्रतिशत विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यमा र तीन प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग गर्ने गरेको देखिएको छ भने विप्रेषण रकमको २८ प्रतिशत बचत र एक दसमलव एक प्रतिशत उत्पादनमूलक क्षेत्र अर्थात व्यापार÷व्यवसाय)मा लगानी भएको देखिएको छ ।   विप्रेषणको रुपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिएता पनि यसले स्वास्थ्य, शिक्षा लगायतघर परिवारको जीवनस्तर उकास्न योगदान गर्दे आएको छ भने लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दे आएको छ ।  वास्तवमा यि तथ्यांकहरु भनेको नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, बैदेशिक रोजगार बिभाग, केन्द्रिय तथ्यांक बिभाग लगायतका बिभिन्न निकाहरुले सार्वजनिक गरेका हुन । यि तथ्यांकहरु सार्वजनिक हुनुको एउटै उद्ेश्य नेपालको अर्थतन्त्रमा बैदेशिक रोजगारीबाट प्राप्त आयले पारेको सकारात्मक असरको बारेमा केन्द्रित रहेको थियो । साँचो अर्थमा भन्नु पर्दा, मुलुकको सिंगो अर्थतन्त्र चलायनमान हुनुको प्रमुख कारण नै बैदेशिक रोजगारीबाट प्राप्त आय रेमिटेन्सलाई नै मान्नु पर्छ ।    घट्दो रेमिटेन्स आर्थिक बिकासको बाधक नेपालमा विप्रेषण आप्रवाहको प्रवृत्ति अध्ययन गर्दा आर्थिक वर्ष २०६५÷६६ मा दुई खर्ब नौ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५÷७६ मा आठ खर्ब ७९ अर्ब पुगेको छ । यो वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षहरुमा विप्रेषणको वृद्धिदर कम हुँदै गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै गई आर्थिक वर्ष २०७१÷७२ मा १३ दसमलव छ प्रतिशत, आर्थिक वर्ष २०७२÷७३ मा सात दसमलव सात प्रतिशत, आर्थिक वर्ष २०७३÷७४ मा चार दसमलव छ प्रतिशत, आर्थिक वर्ष २०७४÷७५ मा आठ दसमलव छ प्रतिशत र आर्थिक वर्ष २०७५÷७६मा १६ दसमलव पाँच प्रतिशतले बढेको देखिन्छ ।   आर्थिक वर्ष २०७६÷७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा केहि कमी आएको छ । आर्थिक वर्ष २०७६÷७७को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई दसमलवग तीन प्रतिशतले कमी आई तीन खर्ब अर्ब ९७ करोड कायम भएको छ ।   चालु आवको छ महिनामा विप्रेषण आप्रवाह शुन्य दसमलव नौ प्रतिशतले बृद्धि भई चार खर्ब ४७ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३० दसमलव दुुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दसमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७ दसमलव तीन प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति अर्थात संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७ दसममलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दसमलव तीन प्रतिशतले घटेको थियो ।   पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा शुन्य दसमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार दसमलव पाँच प्रतिशतले बढेको थियो ।      


Posted on: 2020-Mar-4

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar