पर्यटनमा चिनबाट ठूलो लगानी आएको छ
राजेशकाजी श्रेष्ठ नेपाल चीन उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय वाणिज्य संघ (आइसीसी) नेपालका अध्यक्ष हुन् । उनी पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री पनि हुन् । नेपाल चीन द्विपक्षीय व्यापारका क्षेत्रमा अग्रणी भूमिका खेलिरहेका श्रेष्ठसँगको कुराकानीः
राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चीन उद्योग वाणिज्य संघ
चीनसँगको नेपालको व्यापार असन्तुलन कम गर्न नेपाल चीन उद्योग वाणिज्य संघले के गर्दैछ ?
नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना नै नेपाली वस्तुको चीनमा र चिनियाँ वस्तुको नेपालमा निकासी प्रवद्र्धन गर्नका लागि भएको हो । नेपालको व्यापारघाटा कम गर्न हामीले चीनमा नेपाली वस्तुको प्रवद्र्धन र बजारीकरण गरिरहेका छौं । हाम्रो संघमा आवद्ध व्यवसायीहरु नेपाली वस्तुको प्रवद्र्धनका मेला लगायतका क्रियाकलापमा संलग्न हुनुहुन्छ । हाम्रो यो पहलकै फलस्वरुप नेपालबाट हस्तकला, थांकाचित्र, काठका शील्प चीनमा निकासी भइरहेको छ र यसले हाम्रो देशभित्र भक्तपुर, ललितपुर लगाएत धेरै जिल्लामा उद्यमीहरु जन्माएको छ, रोजगारी बढाएको छ । भक्तपुर र ललितपुरका यी उद्यमीहरु चिनियाँ क्रेताले यी वस्तुहरुको खरिद नगर्ने हो भने टिक्न सक्दैनन् । यसले हाम्रा लागि चिनियाँ बजार कति महत्वपूर्ण छ भन्ने कुरा पनि देखाएको छ ।
चीनले नेपाललाई धेरै वस्तुमा भन्साररहित प्रवेशको सुविधा दिएको छ, तर यहाँहरुले निकासी गर्नै सक्नुभएन भन्ने आरोप छ नि ?
निकासी नबढेको भन्नेमा म सहमत छैन । चीन र नेपालबीचको शून्य भन्सार सम्झौताबाट नेपालले ७ हजार ८सय ८७ वस्तु निकासीमा मा शून्य भन्सार सुविधा सुनिश्चित भएको छ । यो व्यवस्थाले त हाम्रो चीनसँगको व्यापार बढाएको छ । नेपाल र चीनले एकअर्काको देशमा व्यापार प्रवद्र्धन गर्न आवश्यक छ । अहिले लार्चामा निर्माण भएको सुख्खा बन्दरगाह र टिमुरे (रसुवागढी) मा निर्माण सम्भाव्यता अध्ययन भैरहेको आईसीडी (इनल्याण्ड कन्टेनर डिपो) जस्ता पूर्वाधारले व्यापारलाई सहजीकरण गरिरहेको छ । यस्ता पूर्वाधार बढाउन आवश्यक छ भने अर्कोतर्फ विशेष आर्थिक क्षेत्र (सेज) निर्माणे चिनियाँ लगानीकर्तालाई नेपाल आउन उत्साहीत गरेको छ । यसले चिनियाँ लगानीकर्तालाई नेपाल ल्याउन र चिनसँगको व्यापार बढाउन धेरै सहयोगी भूमिका खेल्नेछ । अहिले हामी निर्यातकर्तालाई कसरी बढी सुविधा दिने भन्नेमा केन्द्रीत छौं । यसका लागि अर्थमन्त्रालयसँग अनुरोध पनि गरेका छौं ।
जीएसपी (प्राथमिकताको सामान्यीकृत प्रणाली) अन्तरगत नेपाली वस्तुलाई चीनले बजार प्रवेशको सुविधा दियो, तिनै वस्तुहरुचाहिं उतैबाट आयात गरिरहनुभएको छ ?
नेपाली वस्तु निकासीमा शून्य भन्सारसहितको प्राथमिकता त पायौं तर हामीले निकासी गर्ने वस्तुको गुणस्तरका सम्बन्धमा चिनियाँ सरकारले केही मान्यताहरु निर्धारण गरेको छ । कतिपय अवस्थामा त हामीकहाँ उत्पत्तिको प्रमाणपत्र (सर्टीफिकेट अफ ओरिजिन) जारी गर्ने सवालमै समस्या छ । अर्कोतर्फ गैरभन्सार अवरोधका पर्खालहरु बढ्दै गएका छन् । उदाहरणका लागि, क्वारेन्टाइन, वस्तुको मापदण्ड परिक्षण गरी प्रमाणपत्र जारी गर्ने जस्ता प्रक्रियात्मक विषयमा धेरै अवरोधहरु छन् । नेपाली व्यापारी र सरकारी निकायबीच प्रभावकारी समन्वयको पनि खाँचो छ । यस्ता समस्याहरु समाधान गर्न हामी काम गरिरहेका छौं । हामी क्वारेन्टाइन लगायतका सवालमा रहेका गैरभन्सार अवरोधलाई केही सरल बनाउन एउटा मूर्त सहमतिपत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा पनि कुरा अगाडी बढाइरहेका छौं ।
नेपालभन्दा चीनमै व्यवसाय गर्दा प्रतिस्पर्धी क्षमता उच्च रहेको विभिन्न अध्ययनहरुले देखाइरहेका छन्, यस्तो अवस्थामा चिनियाँ लगानीकर्ता नेपाल आउलान् र ?
नेपालमा यावत् समस्याका बाबजुद पनि चिनियाँ लगानी त भित्रिरहेकै छ । यहाँ काठमाडौं चक्रपथ परियोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, लार्चा सुख्खा बन्दरगाह जस्ता ठूला परियोजनामा लगानी आएको छ । खानीजन्य तथा जलविद्युत् आयोजनामा लगानी आएको छ । पर्यटन क्षेत्रमा लगानी भित्रिएको छ । नेपालमा खासगरी जलविद्युत्, खानी तथा पर्यटन क्षेत्रमा चिनियाँ लगानीकर्ताको चासो छ । नेपालमा प्रशस्त साधनस्रोत छ, व्यवसायको प्रशस्त अवसर छ । हरेक महिन दुई–तीनओटा चिनियाँ व्यवसायीको प्रतिनिधिमण्डलले व्यवसायका सम्भवना खोज्न नेपालमा भ्रमण गरिरहेको छ । अहिलेको लगानीको त अत्यन्त सानो अंश मात्र हो ।
चीनले आफ्ना सस्ता र न्यून गुणस्तरका उत्पादनहरु नेपाली बजारमा ‘डम्प गरेको’ (थुपारेको) पनि भनिन्छ नि ?
त्यस्तो होइन । उनीहरुले उपभोक्ताको आवश्यकता र क्रय क्षमता अनुसारका वस्तु उत्पादन गरेका छन् । जस्तो, अमेरिका, युरोप तथा पूर्वी एसियाका विकसित देशहरुमा प्रयोग हुने उच्च गुणस्तरका वस्तु पनि चिनियाँ उत्पादन नै हुन् । कहिलेकहीं त हामी नै यहाँ पाइने र त्यहाँ पाइने चिनियाँ सामान देखेर अचम्ममा पर्छौं । नेपाली व्यापारीले नेपालका ग्राहकको चाहना अनुसारको सामान आयात गरेका हुन्, चीनियाँ निकासीकर्ताले ‘डम्प’ गरेको होइन ।
पछिल्लो समय चीन र भारतको बढ्दो व्यापारमा नेपाली मार्ग (ट्रान्जिट) प्रयोग गर्ने भन्ने चर्चा पनि हुने गर्छ तर, त्यसो गर्न किन नसकिएको हो ?
नेपालले दुई देशको भूगोललाई जोड्छ । हामीले यो अद्वितिय भौगोलिक अवस्थितिको फाइदा लिनुपर्छ भनेर बहस नभएको होइन । तर, यसलाई हामीले मजबुत एजेण्डा बनाएर कार्यान्वयन गर्न सकेका छैनौं । यसका लागि स्थिर सरकार, दुवै देशलाई जोड्ने सडक पूर्वाधारमा सुधार पहिलो आवश्यकता हो ।
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story